July 1st, 2024

धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्दविरुद्ध सर्वोच्वमा रिट

बैंकिङ खबर/ धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रिया रद्द विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । सर्टलिस्टमा परी अन्तर्वार्तामा समेत सामेल भएका सन्तोष नारायण श्रेष्ठ प्रक्रिया रद्दविरुद्ध सर्वोच्च पुगेका हुन् । उनले अध्यक्ष छनोटका लागि सबै प्रक्रिया पुर्याएपछि प्रक्रिया रद्द गर्नु मनासिव नहुने भन्दै रिट दायर गरेका हुन् ।उनले रिटमा बोर्ड अध्यक्ष छनोटका लागि अहिलेकै प्रक्रिया अघि बढ्नुपर्ने उल्लेख गरेका छन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा रहेको बोर्ड अध्यक्ष छनोट समितिको शुक्रबार बसेको बैठकले अध्यक्ष छनोट प्रक्रिया रद्द गरेको थियो । समितिले महान्यायाधिवक्ता कार्यालयको राय अनुसार छनोट प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।

सरकारले गत माघ ४ गते आयोगका उपाध्यक्ष डा. श्रेष्ठको संयोजकत्वमा बोर्ड अध्यक्ष सिफारिस समिति गठन गरेको थियो । सो समितिले फागुन १६ गते दरखास्त आह्वान गरेको थियो । बोर्ड अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । तीमध्ये समितिले सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्ण बहादुर कार्की, डा. नवराज श्रेष्ठ र चिरञ्जीवि चापागाईं अन्तिम पाँचमा छनोट गरेको थियो ।

समितिले सर्टलिस्टमा परेका ५ जनालाई अन्तर्वार्ता तथा प्रस्तुतीकरणका लागि असार २ गते बोलाएको थियो । तर, सन्तोष नारायण र मुक्ति मात्रै उपस्थित भएका थिए । सो दिन अनुपस्थित भएका कार्की, चापागाई र नवराजलाई समितिले अन्तर्वाताका लागि फेरि असार ५ गते बोलाएको थियो । सो दिन पनि उनीहरू नगएपछि समितिले महान्यायाधिवक्ता कार्यालयसँग राय मागेको थियो ।

महान्यायाधिवक्ता कार्यालयले असार ११ गते समितिलाई धितोपत्र ऐनको व्यवस्था अनुसार कम्तीमा ३ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्न वा छनोट प्रक्रिया नै रद्द गर्न राय दिएको दिएको थियो ।