बैंकिङ खबर/ चालू आवमा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह खस्किएको छ । चालू आवको मौद्रिक नीतिले कर्जा प्रवाह ११.५ प्रतिशत गर्ने लक्ष्य राखेकोमा बैंक तथा वित्तीय संस्थाहरूले ४.७ प्रतिशत मात्रै कर्जा प्रवाह गर्न सफल भएका छन् ।
राष्ट्र बैंकका अनुसार बैंकहरूसँग अहिले करिब ७ खर्ब रुपैयाँ लगानीयोग्य रकम छ । तर पुँजीकोष दबाबमा रहेका बैंकहरूले कर्जा प्रवाह गर्न सकेका छैनन्। कर्जाको माग नआउँदा अरुले पनि उल्लेख्य मात्रामा कर्जा प्रवाह गर्न सकेका छैनन्।
राष्ट्र बैंकको नियमअनुसार बैंकहरूको जोखिमयुक्त कर्जाको आधारमा प्राथामिक पुँजी कोष अनुपात ८.५ प्रतिशत हुनुपर्छ। यस आधारमा ५ वटा बैंक दबाबमा देखिएका छन्। यसको असर यी बैंकको कर्जा प्रवाहमा देखिएको छ।
पुँजीकोष दबाबमा नरहेका बैंकहरूले पनि अहिले कर्जा प्रवाह गर्नसकेका छैनन्। आर्थिक सुस्तताका बीच बजारमा कर्जाको माग नै घटेको छ। परिणामतः बैंक तथा वित्तीय सस्थाहरूले अपेक्षित रुपमा कर्जा प्रवाह गर्न सकेका छैनन्। कर्जाको माग बढ्न नसक्दा बैंकिङ प्रणाली निक्षेप थपिने क्रम जारी छ । पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप ६३ खर्ब रुपैयाँ नाघेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार हाल बैंकिङमा ९९ अर्ब रुपैयाँ अधिक तरलता रहेको छ। कर्जाको माग सुस्ताउँदा बैंकिङ प्रणालीमा अधिक तरलता बढेर झन्डै १ खर्ब पुगेको छ । राष्ट्र बैंकअनुसार पछिल्लो एक साताको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ३९ अर्ब रुपैयाँले बढेको छ। असार ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६२ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ६३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ।
यो साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप ४० अर्ब रुपैयाँले बढेको छ। असार ७ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५५ खर्ब ५७ अर्ब रुपैयाँ रहेकोमा असार १४ गतेसम्म बढेर ५५ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।
बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि २५ अर्ब रुपैयाँले बढेको छ। असार ७ गतेसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५१ खर्ब ३५ अर्ब रुपैयाँ थियो। असार १४ गतेसम्म कुल कर्जा लगानी बढेर ५१ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ। बैंकहरुको औसत सीडी रेसियो ७९ प्रतिशत झरेको छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत रहेको छ।