बैंकिङ खबर/पुँजीकोषको दबाबमा परेका बैंक तथा वित्तीय संस्थाले अग्राधिकार सेयर जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिकामा संशोधन गर्दै प्राथमिक पुँजी कोषको ५ प्रतिशतभन्दा कम सञ्चित नोक्सानीमा भएका बैंकहरुले अविमोच्य अग्राधिकार सेयर (पर्पेच्युअल नन्क्युमुलेटिभ अग्राधिकार सेयर) जारी गर्न पाउने व्यवस्था गरेको हो ।
क्यापिटल एडुकेसी फ्रेम वर्क २०१५ मा बैंकहरूले जोखिम भारतीय सम्पत्तिको १.५ प्रतिशतसम्म यस्तो उपकरणमार्फत अग्राधिकार सेयर जारी गर्न सक्ने व्यवस्था रहेकोमा सोही व्यवस्थालाई राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको हो ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा राष्ट्र बैंकले पूँजीकोष सबल बनाउन वैकल्पिक औजारमार्फत पुँजी थप गर्ने विकल्प खुला गर्ने उल्लेख गरेको थियो । सोही व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
तथापि, प्राथमिक पूँजीकोषको ५ प्रतिशतभन्दा बढी सञ्चित नोक्सानीमा भएका बैंकहरुले भने यस्तो अग्राधिकार सेयर जारी गर्न पाउने छैनन् । तर यस्तो सेयर संस्थागत लगानकर्ताले मात्रै खरिद गर्न पाउँछन् ।
निर्देशनमा भनिएको छ, ‘अन्तिम लेखा परीक्षण भएको पछिल्लो वित्तीय विवरणको आधारमा कायम रहेको प्राथमिक पुँजीको पाँच प्रतिशतभन्दा बढी सञ्चित नोक्सानी बाँकी नरहेका इजाजत पत्र प्राप्त संस्थाले बढीमा आफ्नो प्राथमिक पुँजीको शत प्रतिशतसम्मको डिबेन्चर/अन्य ऋण उपकरण जारी गर्ने स्वीकृतिका लागि यस बैंकमा निवेदन पेस गर्नुपर्नेछ । त्यस्तो निवेदनका सम्बन्धमा यस बैंकले आवश्यक सर्त तोकी डिबेन्चर तथा अन्य ऋण उपकरण जारी गर्न स्वीकृति दिन सक्नेछ ।’
राष्ट्र बैंकले तोकेका १२ सर्त
– पर्पेच्युअल नन्–क्युमुलेटिभ अग्राधिकार सेयरको भुक्तानी अवधि तोकी निष्कासन गर्न नपाइने भएको हो ।
– उक्त सेयर संस्थागत लगानीकर्ताले मात्र धारण गर्ने सुनिश्चित हुने गरी जारी गर्नुपर्ने ।
– उक्त सेयर सम्बन्धित बैंक तथा वित्तीय संस्था स्वयंले निष्कासन गर्नुपर्नेछ । यस्तो सेयर पूर्ण रूपमा चुक्ता भएको हुनुपर्ने ।
– उक्त सेयर कुनै पनि सुरक्षण नराखी निष्कासन गर्नुपर्ने ।
–अग्राधिकार सेयरमा लाभांश वितरण गर्ने वा नगर्ने सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अधिकार सम्बन्धित बैंक तथा वित्तीय संस्थामा निहित हुने । लाभांशसम्बन्धी व्यवस्था इजाजतपत्र प्राप्त संस्थाले विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ । साथै, यस्तो सेयरमा प्रदान गर्ने लाभांश दरसमेत विवरणपत्रमा स्पष्ट रुपमा खुलाउनुपर्नेछ ।
–अग्राधिकार सेयरको लाभांश वितरण नाफा नोक्सान बाँडफाँट हिसाबमार्फत् चालु आर्थिक वर्षको मुनाफाबाट मात्र गर्नुपर्नेछ । यसका लागि सञ्चित मुनाफा खाता एवम् कुनै पनि कोष खर्च गर्न पाइने छैन ।
-अग्राधिकार सेयरमार्फत नोक्सानी प्रशोचन गर्ने सम्बन्धमा
(क) अग्राधिकार सेयर जारी गरेका संस्थाको तोकिएको ट्रिगर बिन्दु पुगेको अवस्थामा नोक्सानी प्रशोचन गर्ने प्रयोजनका लागि त्यस्तो सेयर साधारण सेयरमा परिणत गर्नुपर्नेछ । यसरी परिणत गर्नुपूर्व राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेछ ।
(ख) यस व्यवस्थाका लागि साधारण सेयर प्राथमिक पूँजी कुल जोखिम भारित सम्पत्तिको ५.१२५ प्रतिशतभन्दा कम भएको अवस्थालाई ट्रिगर बिन्दु मानिने छ ।
(ग) अबिमोच्य असञ्चिति अग्राधिकार सेयरलाई ट्रिगर बिन्दु मानी साधारण सेयरमा परिणत गर्दा संस्थापक समूहको साधारण सेयरमा परिणत गर्नुपर्ने । यसरी परिणत गर्दा संख्या निर्धारण गर्ने विधि/सूत्र विवरणपत्रमा उल्लेख गर्नुपर्नेछ ।
– बैंक तथा वित्तीय संस्थाले अबिमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्दा यस प्रकारको सेयरमा निहित जोखिम तथा ट्रिगर बिन्दु पश्चात हुन सक्ने अपेक्षित परिणामका बारेमा स्पष्ट खुलाई ‘रिस्क डिस्क्लोजर स्टेटमेन्ट’ सार्वजनिक गर्नुपर्ने ।
– अबिमोच्य असञ्चिति अग्राधिकार सेयरमा लगानी गर्ने लगानीकर्ताबाट ‘रिस्क डिस्क्लोजर स्टेटमेन्ट’ लगानीकर्ताहरूले प्राप्त गरेको, विवरणपत्रमा उल्लेखित सम्पूर्ण व्यवस्था तथा सर्त पढेको र बुझेको तथा लगानीकर्ता अबिमोच्य असञ्चिति अग्राधिकार सेयरमा निहित रहेको जोखिमका बारेमा पूर्ण जानकार रहेको हुनुपर्ने सर्त तोकेको छ ।
– संस्था खारेजी भएको अवस्थामा अबिमोच्य असञ्चिति अग्राधिकार सेयरको भुक्तानी साधारण सेयरभन्दा अगाडि तर पूरक पूँजीमा समावेश भएका नियामकीय पूँजी उपकरणहरू, निक्षेपकर्ता एवम् अन्य साधारण साहुभन्दा पछि मात्र हुनेछ ।
– राष्ट्र बैंकले अबिमोच्य असञ्चिति अग्राधिकार सेयर स्वीकृति दिँदा आवश्यकताअनुसार अन्य थप सर्तहरू तोक्न सक्नेछ ।
– उपर्युक्त व्यवस्था ‘क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५’ लागु हुने इजाजतपत्रप्राप्त संस्थाको हकमा मात्र लागु हुने




