June 25th, 2024

केन्द्रीय बैंक ऋणीलाई बोझ बोकाउनेतर्फ छैनः गभर्नर

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंक ऋणीलाई बोझ बोकाउनेतर्फ नरहेको स्पष्ट पारेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले मंगलबार आयोजना गरेको प्रि मनिटरी पोलिसि डिसकस कार्यक्रममा गभर्नर अधिकारीले कतिपय समयमा लोनको भ्यालु बढाउने सुझाव राष्ट्र बैंकमा आउने गरेको उल्लेख गरे ।

अहिले लोनको भ्यालु बढाए व्यवसायीहरु चाबी बुझाउछौं भन्दै राष्ट्र बैंकमा आउने त्रास रहेको उनको भनाइ छ । वर्किङ क्यापिटल गाइड लाइन्समा कुनै समस्या नरहेको बताउँदै गभर्नर अधिकारीले कुनै समस्या आए राष्ट्र बैंकमा सुझाव दिन आग्रह गरे ।

वर्किङ क्यापिटल गाइड लाइन्समा कुनै सीमा नराखेको उनले बताए । बिरोधका लागि बिरोध गर्नुभन्दा पनि समस्या भएर ल्याएको खन्डमा त्यसको समाधान गर्ने उनले बताए ।

अब ग्राहक संरक्षणका लागि सुपरभिजन गर्ने उनको भनाइ छ । बैंकबाट लोन लिँदा कमिसन लिनु संवेदनशील विषय रहेको बताउँदै गभर्नर अधिकारीले यस्ता विषयलाई राष्ट्र बैंकले गम्भीर रुपमा हेर्ने बताए ।

बैंक तथा वित्तीय संस्थामा नियमन नहुने हो भने सहकारीको जस्तो अवस्था आउनेतर्फ सचेत हुनुपर्ने उनको भनाइ छ । नियमन कस्तो भयो भन्नेमा ध्यान दिनु पर्ने अधिकारीले बताए ।