June 25th, 2024

सेबोन अध्यक्ष नियुक्तिः दुईजनाको मात्र नाम सिफारिस गर्न नसकिने

बैंकिङ खबर/ नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष नियुक्ति प्रक्रिया अन्योलतर्फ धकेलिएको छ । सर्टलिस्टमा परेका पाँच जना उम्मेदवारमध्ये तीन जनाले पटकपटक अन्तरवार्ता बहिस्कार गरेसँगै थप अन्योल बढेको हो ।

महान्यायाधिवक्ताको कार्यालयले थप एक जनासहित तीन जनाको नाममा सिफारिस गर्न वा अध्यक्ष नियुक्ति प्रक्रिया नै रद्द गर्न नेपाल धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिलाई सुझाव दिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ नेतृत्वको तीन सदस्यीय धितोपत्र बोर्ड अध्यक्ष छनोट तथा सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनालाई आइतबार अन्तर्वार्ता तथा कार्यप्रस्तुतिका लागि बोलाएको थियो । तर, सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ बाहेक बाँकी तीन जना उम्मेदवार चिरञ्जीवी चापागाईँ, कृष्णबहादुर कार्की र डा. नवराज अधिकारी अन्तर्वार्तामा उपस्थिति भइदिएनन् ।

सर्टलिस्टको बहुमत उम्मेदवार आइतबारको अन्तरवार्तामा अनुपस्थित भएपछि छनोट समितिले बुधबार पुनः वार्ताका लागि तीन जनालाई बोलाएको थियो । तर, यस दिन पनि तीनै जना उम्मेदवार अन्तरवार्तामा अनुपस्थित भइदिए ।