बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाले एक सातामा तीन दिन स्थायी निक्षेप सुविधा उपभोग गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले खुलाबजार कारोबार सम्बन्धी कार्यविधि संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो ।
केन्द्रीय बैंकले यसभन्दा अघि साताको २ दिन उपभोग गर्न सक्ने स्थायी निक्षेप सुविधालाई बढाएर साताको तीन दिन बनाएको हो ।
संशोधित व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले साताको आइतबार, मंगलबार र बिहीबार स्थायी निक्षेप सुविधा प्रयोग गर्न सक्छन् ।
यसभन्दा अघि बैंक तथा वित्तीय संस्थाले साताको दुई दिन अर्थात् आइतबार र बुधबार मात्रै स्थायी निक्षेप सुविधा प्रयोग गर्न सक्ने व्यवस्था थियो ।
वित्तीय क्षेत्रका बढेको तरलता व्यवस्थापन र व्याजदर करिडोरको कार्यान्वयन प्रभावकारी नभएपनि केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत स्थायी निक्षेप सुविधा सम्बन्धित व्यवस्थाहरुमा पुनरावलोकन गर्ने भनेको थियो । सोही अनुसार केन्द्रीय बैंकले कार्यविधि संसोधन गरेर स्थायी निक्षेप सम्बन्धी व्यवस्थाहरुलाई खुकुलो बनाएको हो ।
संशोधित कार्यविधि अनुसार केन्द्रीय बैंक स्थायी निक्षेप सुविधा उपभोगका लागि तोकका सर्तहरुमा समेत लचकता अपनाएको छ । संशोधित कार्यविधि अनुसार कर्जा निक्षेप अनुपात तथा तरलता सम्पत्तीको शर्त हटाएको छ ।
नयाँ व्यवस्था अनुसार स्वदेशी मुद्रामा लिएको अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको र स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदरभन्दा कम नभएको बैंक तथा व्त्तिीय संस्थाले स्थायी नक्षिेप सुविधा प्रयोग गर्न सक्छन् ।
साथै केन्द्रीय बैंकले स्थायीे निक्षेप सुविधाको न्यूनतम रकम १० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्ने व्यवस्था गरेको छ । यसभन्दा अघि यस्तो सीमा न्यूनतम रकम २० करोड र सोभन्दा बढीको हकमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष रहने अंक हुनुपर्ने थियो ।
त्यसैगरी केन्द्रीय बैंकले एक सातामा स्थायी निक्षेप सुविधा आइतबार, मङ्गलबार र बिहीबार प्रदान गर्ने छ । उक्त दिन सार्वजनिक विदा परेमा त्यसपछि कार्यालय खुलेको दिनमा उपलब्ध गराउने व्यवस्था गरेको छ । यसभन्दा अघि साता दुई पटक आइतबार र बुधबार स्थायी निक्षेप सुविधा प्रयोग गर्न सक्ने व्यवस्था थियो । यसरी स्थायी निक्षेप मार्फत केन्द्रीय बैंकमा राखेको पैसा परिपक्क हुने अवधि ४ दिन तोकेको थियो ।
नयाँ व्यवस्था अनुसार आइतबार प्रदान गरिएको सुविधा मङ्गलबार, मङ्गलबार प्रदान गरिएको सुविधा बिहीबार र बिहीबार प्रदान गरिएको सुविधा आइतबार परिपक्व भई भुक्तानी गर्ने व्यवस्था गरेको केन्द्रीय बैंकले जनाएको छ । तर भुक्तानी मितिमा बैंक विदा पर्ने अवस्थामा विदाको अघिल्लो दिनमा भुक्तानी हुने गरी कम अवधिका लागि समेत प्रदान गर्न सकिने छ ।
OMO-Procedure-2078_5th.-Revision-Final