बैंकिङ खबर/ अर्थमन्त्री वर्षमान पुनले सरकार पुँजीबजार प्रति सकारात्मक रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसदहरु रामहरि खतिवडा, रोशन कार्की र हरि ढकालले उठाएका प्रश्नहरुको उत्तर दिँदै उनले सरकार निरन्तर राष्ट्र बैंकसँग संवादमा रहेको र आर्थिक वर्षको पहिलो साता आउने मौद्रिक नीतिमा केहि नीतिहरु खुकुलो बनाएर जाने छलफलमा रहेको जानकारी गराए।
उनले भने, ’अर्को मौदिक नीति खुकुलो आउँछ,जसले समग्र सेयरबजार उत्साहित हुन्छ र फेरि पनि सेयरबजार लयमा फर्किन्छ।’ यस्तै उनले दक्ष र व्यवसायिक व्यक्तलाई सरकारले छिट्टै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताए ।
पुनले १९ आवेदकमध्येबाट छनोट समितिले ५ जनाको नाम ‘सर्ट लिष्ट’ गरेको र त्यसमध्ये दुई जना मात्र प्रस्तुतिकरणका लागि उपस्थित भएकाले यस्तो अवस्थामा के गर्न सकिन्छ भन्नेबारे महान्यायाधिवक्ता कार्यालयसँग राय मागिएको जानकारी दिए । उनले दाबेदारमध्येबाट व्यसायिक र दक्ष व्यक्तिलाई सरकारले छिट्टै बोर्ड अध्यक्ष नियुक्त गर्न जानकारी दिए ।
धितोपत्र ऐनमा स्पष्ट रुपमा पाँचमध्ये समितिले तीन जनाको नाम अनिवार्य सिफारिस गर्नुपर्ने स्पष्ट व्यवस्था गरेको भन्दै मन्त्री पुनले समितिले प्रस्तुतिकरणमा सहभागी भएका सन्तोषनारायण श्रेष्ठ र मुक्ति नारायण श्रेष्ठमध्ये एकलाई, त्यसमा बाँकी तीनबाट एक जना थप गरेर वा सर्ट लिस्टमा परेका पाँचै जनालाई सिफारिस गर्ने भन्ने विषयमा महान्यायाधिवक्ता कार्यालयसँग राय माग गरिएको उल्लेख गरे ।




