June 23rd, 2024

बैंकहरुको बढ्दो निष्क्रिय कर्जा, ब्याज असुलीमा आक्रामक बन्न निर्देशन

बैंकिङ खबर/ वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा बढ्दै गएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चैत मसान्तमा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा ३.८९ प्रतिशत छ । गत वर्ष चैत महिनामा वाणिज्य बैंकको निष्क्रिय कर्जा ३.२३ प्रतिशत थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तमा ३.६१ प्रतिशत रहेको निष्क्रिय कर्जा पुस मसान्तमा बढेर ३.६३ प्रतिशत पुगेको थियो । ३ महिनाभन्दा लामो समय साँवा ब्याज नतिरेको कर्जालाई निष्क्रिय वर्गमा वर्गीकरण हुने भएकाले बैंकहरुले कम्तिमा चैत मसान्तसम्मको ब्याज उठाउनु पर्नेछ ।

यदि बैंकहरुले ऋणीबाट ३ महिनासम्म साँवा तथा ब्याज उठाउन सकेनन् भने त्यस्तो कर्जा निष्क्रियको सूचीमा वर्गीकरण हुन्छ । सक्रिय कर्जाको तुलनामा निष्क्रिय कर्जामा धेरै बढी कर्जा नोक्सानी व्यवस्था (लोन लस प्रोभिजन) राख्नु पर्ने हुँदा बैंकहरु पनि निष्क्रिय कर्जा घटाउने प्रयासमा छन् ।

यसैबीच वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले चैत मसान्तसम्मको ब्याज उठाउन मातहतका निकायलाई निर्देशन दिन थालेका छन् ।

चालु आर्थिक वर्षको अन्तिम महिना असारमा चैत मसान्तसम्मको ब्याज असुल नहुँदा निष्क्रिय कर्जा उल्लेख्य बढ्ने भएकाले सीईओहरुले प्रदेश प्रमुख र शाखा प्रमुखहरुलाई ब्याज असुलीमा आक्रमक हुन निर्देशन दिएका हुन् ।

खराब कर्जाको बढ्दो ट्रेन्डले वित्तीय संस्थाको नाफा, पुँजी कोष र तरलतामा प्रभावः पूर्व बैंकर क्षेत्री

पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्रीले खराब कर्जाको बढ्दो ट्रेन्डले वित्तीय संस्थाको नाफा, पुँजी कोष र तरलतामा प्रभाव परेको बताएका छन् । उनले ५ वर्षअघि १.८१ प्रतिशत रहेको बैंकको खराब कर्जा अहिले ३.९८ प्रतिशत पुग्नु ठूलो दबाब रहेको बताए । यस्तै अर्थतन्त्रमा देखिएको सुस्तताले बैंक तथा वित्तीय संस्थाको जोखिमपूर्ण सम्पति पनि बढ्दै गएको उनको भनाइ छ ।

उनले भने, ‘२०७६ मा प्रोभिजनिङ ६९ अर्ब रहेकामा अहिले २ खर्ब ३३ अर्ब पुगेको छ । लोन लस प्रोभिजनको शिर्षकमा रकम बढ्दै गएको । २०७६ मा गैर बैंकिङ सम्पति साढे ६ अर्ब रहेकोमा अहिले २७ अर्ब ४ करोड रुपैयाँ पुगेको छ, ५ वर्षअघि रिटर्न अन इक्विटी (आरओई) १२.५९ थियो, अहिले ७.६८ प्रतिशत छ ।’

यस्तै, उनले ५ वर्षको अवधिमा बैंकहरुको नाफा पनि १७ प्रतिशतले घटेको तथ्यांक प्रस्तुत गरे । बजारमा बैंकहरुले अरबौं कमाए भनेर हल्ला भए पनि त्यो भ्रम मात्रै रहेको उनको भनाइ छ । २०८० को वित्तीय प्रतिवेदन अनुसार १० वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको बताउँदै ४ वटाको २ प्रतिशतभन्दा कम र ३ वटा बैंकको ४ देखि ६ प्रतिशतको हाराहारीमा वितरणयोग्य नाफा रहेको उनले बताए ।

उनले पुँजी कोषको दबाबकै कारण कर्जा नबढ्ने तर प्रोभिजन बढ्ने अवस्था देखिएको सुनाए । उनले भने, ‘जोखिमपूर्ण सम्पतिको ट्रेन्ड डरलाग्दो छ । तर, आत्तिनु हुँदैन । अहिले पुँजी कोष कायम गर्न नसक्ने २ बैंक छन्, १८ वटा बैंकको कर्जा प्रवाह गर्न सक्ने क्षमता पनि करिब ६ खर्ब रुपैयाँ छ, अहिले बैंकहरुको ६ खर्ब ९२ अर्बको पुँजी कोष छ, त्यसमा ८३ अर्ब घटेमा बैंकको पुँजी कोष १०.९९ कायम हुन जान्छ, यसले बैंकलाई थप सकस सिर्जना गर्न सक्छ ।’