June 17th, 2024

मौद्रिक नीतिको समीक्षापछि घर जग्गा कारोबार २२.८५ प्रतिशतले वृद्धि

बैंकिङ खबर/ मौद्रिक नीतिको समीक्षापछि घरजग्गा कारोबारमा उल्लेख्य सुधार भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागका अनु्सार जेठमा ६१ हजार एक सय ६१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो वैशाखको तुलनामा २२.८५ प्रतिशतले बढी हो ।

वैशाखमा ४९ हजार सात सय ८२ संख्यामा घरजग्गा किनबेच भएको थियो । जेठ पहिलो साता आएको मौद्रिक नीति समीक्षाले व्यक्तिगत रूपमा घरजग्गाको किन्ने वा कारोबर गर्नेलाई थप सहज बनाएको छ ।

नेपाल राष्ट्र बैंकले घरजग्गा कारोबार सहज बनाउनका लागि चालु आवको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत ५० लाखसम्मको आवासीय घर कर्जाको कर्जा आम्दानी अनुपात बढाएको थियो । त्यसमा परिमार्जन गर्दै मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा मार्फत कर चुक्ता प्रमाणपत्रको आधारमा घरजग्गा खरिदका लागि सबै कर्जामा कर्जा आम्दानी अनुपात बढाएर ७० प्रतिशत पुर्‍याएको छ ।

उक्त व्यवस्थासँगै घरजग्गा कारोबार गर्नेहरुले आफ्नो आम्दानीको ७० प्रतिशत किस्ता हुन आउने गरी बैंकबाट ऋण लिन पाएका छन् । यसअघि आम्दानीको ५० प्रतिशत किस्ता हुन आउने गरी बैंकबाट ऋण लिन पाउने व्यवस्था रहेको थियो ।

यस्तै, आवासीय घर कर्जाको सीमा १ करोड ५० लाखबाट बढाएर २ करोड पुर्‍याएको छ । यस्तै रियल इस्टेट सम्बन्धी कर्जाको जोखिम भार १ सय ५० बाट घटाएर १ सय २५ प्रतिशत कायम गरिएको छ । यस्तै राष्ट्र बैंकले धितो मूल्यांकन आधारमा कर्जा पाउने सीमा (लोन टु भ्यालु रेसियो) पनि उपत्यकाभित्र ३० प्रतिशतसम्म झारेकोमा त्यसलाई बढाउँदै लगेर ५० प्रतिशत कायम गरेको छ ।

विभागको तथ्यांकअनुसार जेठमा देशभर ६१ हजार एक सय ६१ संख्यामा घरजग्गा किनबेच भएको छ। यो वैशाखको तुलनामा २२.८५ प्रतिशतले बढी हो । वैशाखमा देशभर ४९ हजार सात सय ८२ संख्यामा घरजग्गा किनबेच भएको थियो ।

यो कारोबार गत वर्ष जेठको तुलनामा पनि ११ प्रतिशतले बढी हो । गत जेठमा देशभर ५५ हजार संख्यामा घरजग्गा किनबेच भएको थियो । घरजग्गा किनबेच बढेसँगै राजस्व पनि वृद्धि भएको छ ।

जेठमा घरजग्गा कारोबारबाट सरकारलाई ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ राजस्व प्राप्त भएको छ। बैशाखको तुलनामा ४७ करोड ५४ लाख बढी राजस्व संकलन भएको हो । यो बैशाखको तुलनामा १२.३० प्रतिशतले बढी हो । वैशाखमा घरजग्गा कारोबार बापत ३ अर्ब ८६ करोड ३८ लाख रूपैयाँ राजस्व प्राप्त भएको थियो ।