बैंकिङ खबर/गत भदौयता वाणिज्य बैंकहरूको ब्याजदर निरन्तर रुपमा घट्दै गएको छ । निक्षेप थुप्रिएको र कर्जा प्रवाह सुस्त भएकाले बैंकहरूले निक्षेपको ब्याजदर घटाउँदै लगेका छन् ।
चालू आर्थिक वर्ष ०८०÷८१ को सबैभन्दा उच्च ब्याजदर १०.३२ प्रतिशत रहेको भदौयता निरन्तर ओरालो लागिरहेको छ । भदौयता ११ महिनामा औसत ब्याजदरमा ३.४४ प्रतिशत विन्दुले कमी आएको छ । संस्थागततर्फ मुद्दती निक्षेपको औसत ब्याजदर ५.६७ प्रतिशत छ । गत भदौमा यस्तो ब्याजदर ८.२८ प्रतिशत थियो । यसबीच २.६१ प्रतिशत विन्दुले घटेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार सोमबारसम्म (२८ जेठसम्म) बैंकहरूमा निक्षेप संकलन ५५ खर्ब १५ अर्ब रुपैयाँ छ । १ जेठमा यस्तो निक्षेप संकलन ५४ खर्ब ६८ अर्ब रुपैयाँ थियो । अर्थात् २८ दिनमा निक्षेप संकलनमा ४७ अर्ब रुपैयाँको वृद्धि भएको देखिन्छ । सरकारी खर्चमा भइरहेको वृद्धिले पनि निक्षेप संकलन बढेको हो । २८ दिनमा एक खर्ब १० अर्बको सरकारी खर्च भएको छ ।
असारका लागि ११ वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएका छन् । एनआइसी एसिया र एनएमबि बैंकले ब्याजदर ०.११ प्रतिशत विन्दुले घटाएर ७.६९ प्रतिशत कायम राखेका छन् । राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर ०.१८ प्रतिशतले घटेर ६.२२ प्रतिशत पुगेको छ । ग्लोबल आइएमई बैंकको ब्याजदर १ प्रतिशत घटेर ६.५ प्रतिशत कायम छ ।
सानिमा बैंकको ब्याजदर ०.१ प्रतिशत विन्दु कम भएर ६.८ प्रतिशत निर्धारण भएको छ । एभरेष्ट बैंकको ब्याजदर ०.७५ प्रतिशत र नेपाल एसबिआई बैंकको ०.०९ प्रतिशत विन्दुले घटेको छ । सिटिजन्स इन्टरनेसनल बैंकको ब्याजदर ०.१ प्रतिशत विन्दुका दरले घटेर ६.९ प्रतिशत कायम भएको छ ।
सबैभन्दा बढी ब्याजदर हिमालयन बैंकले दिने भएको छ । हिमालयनले जेठको तुलनामा निक्षेपको ब्याजदर ०.७५ प्रतिशत विन्दुले बढाएर ८.२५ प्रतिशत पु¥याएको छ । नबिल बैंकले ६.७५ प्रतिशतको ब्याजदर बढाएर ७ प्रतिशत पु¥याएको छ भने माछापुच्छ्रे बैंकको ब्याजदर ०.२५ प्रतिशतले बढेर ७.५ प्रतिशत कायम भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, स्ट्यान्डर्ड चार्टर्ड, प्रभु, नेपाल बैंक र सिद्धार्थ बैंकको ब्याजदर यथावत् छ ।




