June 12th, 2024

बैंकबाट ऋण लिएर घरघडेरी किन्ने बढे

बैंकिङ खबर/ बैंक तथा वित्तीय संस्थाहरुबाट ऋण लिएर घरघडेरी किन्नेको संख्या बढेको पाइएको छ । राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा ऋण प्रवाह बढाउने गरी एकपछि अर्को नीतिगत लचकता अपनाउन थालेपछि व्यक्तिगत आवासीय घरकर्जा बढ्न थालेको हो ।

चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)मा बैंक तथा वित्तीय संस्थाहरुले ४१ अर्ब २० करोड रुपैयाँ व्यक्तिगत आवासीय घरकर्जा प्रवाह गरेका छन् । जुन रकम ०८० असारको तुलनामा ११.८ प्रतिशतले वृद्धि हो ।

०८० असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट कुल तीन खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ आवासीय घरकर्जा प्रवाह भएकोमा ०८१ वैशाख मसान्तसम्म आइपुग्दा यस्तो कर्जा बढेर तीन ८९ अर्ब ३२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

गत आवको पहिलो १० महिनासँग तुलना गर्दा चालु आवमा व्यक्तिगत आवासीय कर्जा उल्लेख्य बढेको देखिन्छ ।

गत वर्षको १० महिनामा १० अर्ब नौ करोड रुपैयाँमात्र आवासीय कर्जा प्रवाह भएको देखिन्छ । जबकी, यस वर्ष सोही अवधिमा ४१ अर्ब २० करोड रुपैयाँ आवासीय कर्जा प्रवाह भएको राष्ट्र बैंकको तथ्यांक छ ।

उपभोक्ताबाट आवासीय कर्जाको माग बढेसँगै बैंक तथा वित्तीय संस्थाहरुले घरकर्जा बढाएका हुन् । मन्दी, तरलता अभाव, चर्को ब्याजदर, ऋण प्रवाहमा कडाइलगायत कारणले घटेको घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा विस्तारै बढ्न थालेको देखिन्छ ।