June 12th, 2024

व्यक्तिगत आवासीय घरकर्जा ११.८ प्रतिशतले बढ्यो

बैंकिङ खबर/ पछिल्लो समय व्यक्तिगत आवसीय घरकर्जा बढेको तथ्यांकले देखाएको छ। नेपाल राष्ट्र बैंकका अनुसार व्यक्तिगत आवासीय घरकर्जा चालू आवको १० महिनामा ११.८ प्रतिशतले बढेको छ । यस्तै व्यावसायिकतर्फ भने ०.२ प्रतिशतले घटेको छ ।

गत वर्षको साउन महिनासम्म २ खर्ब ४९ अर्ब ४४ करोड रुपैयाँ व्यावसायिक प्रयोजनका घरजग्गामा ऋण प्रवाह भएकोमा २०८१ वैशाख मसान्तसम्म यस्तो कर्जा घटेर २ खर्ब ४८ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।

चालू आवको १० महिनामा हाउजिङ अर्पाटमेन्ट र आवासीय (२ करोडभन्दा माथिको) ऋणमा ४७ करोड रुपैयाँले कमी आएको छ।
यता २ करोडसम्मका आवासीय घर कर्जामा भने उल्लेख्य वृद्धि भएको छ। बैंकका अनुसार चालू आवको १० महिनामा ३ खर्ब ८९ अर्ब ३२ करोड रुपैयाँ प्रवाह भएको हो। जब कि गत वर्षको साउनमा यस्तो ऋण प्रवाह ३ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ मात्रै थियो। २०८० साउनको तुलनामा २०८१ वैशाखमा ४१ अर्ब १९ करोड रुपैयाँले बढी ऋण प्रवाह भएको छ।

घरजग्गा खरिदबिक्री चलायमान नहुनु, बैंकको ब्याजदर महंगो हुनु, कित्ताकाट नखुल्नुलगायतका कारणले व्यापारिक प्रयोजनका घरजग्गा व्यवसाय सुस्त छ। यसले गर्दा यस क्षेत्रमा ऋण लिने ऋणीहरु पनि चालू आवको १० महिनामा कम देखिएका हुन्।

यीबाहेक सेयर धितो कर्जा, आवधिक कर्जा, वर्किङ क्यापिटल लोन (चालू पुँजी कर्जा) लगायतका सात प्रकारको क्षेत्रमा ऋण प्रवाह बढ्दा व्यावसायिक प्रयोजनका घरजग्गासहित ५ वटा क्षेत्रमा जाने ऋण घटेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको विवरणमा आवधिक कर्जा १८.८ प्रतिशतले बढेको छ। गत वर्षको साउनमा १५ खर्ब ७९ अर्ब ७९ करोड रुपैयाँ कर्जा प्रवाह भएकोमा ०८१ वैशाख मसान्तसम्म १८ खर्ब ७७ अर्ब ५८ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। यो १० महिनामा २९ अर्ब ७७ करोड ८७ लाख रुपैयाँ बढीले कर्जा प्रवाह भएको छ।