June 7th, 2024

बैंक तथा वित्तीय संस्थामा १ अर्ब ४३ करोड निक्षेपमा राख्दै राष्ट्र बैंक

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थामा नेपाल राष्ट्र बैंकले १ अर्ब ४३ करोड रुपैयाँ निक्षेप राख्ने भएको छ। बैंकले बिहीबार (क), (ख) र (ग) वर्गका बैंक तथा वित्तीय संस्थाहरुमा सूचना जारी गर्दै निक्षेपका लागि ब्याजदर खुलाएर आवेदन दिन भनेको हो।

राष्ट्र बैंकले पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा ३६६ दिन समयका लागि निक्षेपमा राख्न चाहेको हो। निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदरसहित आवेदन दिन राष्ट्र बैंकले भनेको छ।

बैंकले (क) वर्गका लागि १ अर्ब १४ करोड ४० लाख, (ख) वर्गका लागि २१ करोड ४५ लाख र (ग) वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा ७ करोड १५ लाख रुपैयाँ निक्षेपमा लगानी गर्ने भएको हो।

निक्षेपमा राख्न चाहने बैंक तथा वित्तीय सस्थाहरु सञ्चालनमा आएको २ वर्ष पूरा भएको, न्यूनतम पुँजीकोष काय रहेको, निष्कृय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम भएको हुनुपर्ने सर्त छ।

यस्तै समस्याग्रस्त घोषणा नभएको वा घोषणा फुकुवा भएकाको हकमा ६ महिना अवधि पूरा भएको हुनुपर्नेछ। यस्तै आवेदन दिन चाहने संस्थाको अघिल्लो आवको वर्षमा खुद मुनाफामा रहेको हुनुपर्नेछ। बैंकले निक्षेप राख्न चाहन बैंक तथा वित्तीय संस्थाले जेठ २७ गतेभित्र आवेदन दिनुपर्ने उल्लेख गरेको छ।

PG-2081.03.03