बैंकिङ खबर/ दुई वटा वाणिज्य बैंकले ५/५ अर्बको अग्राधिकार(प्रिफरेन्सियल) सेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएका छन् ।
चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने विषय उल्लेख गरेपछि बैंकहरु पुँजी जुटाउने प्रक्रिया अघि बढाएका छन् ।
नेपाल राष्ट्र बैंक नियम विभाग प्रमुख (कार्यकारी निर्देशक) गुरु प्रसाद पौडेलले हालसम्म एनआइसी एसिया बैंक र नविल बैंकले अग्राधिकार सेयरका लागि आवेदन दिएको बताए ।
एनआइसीले भर्खरै मात्र अनुमति मागे पनि नबिलले भने करिब २ महिना अगाडी नै राष्ट्र बैंकमा निवेदन दिएको पौडेलले बताए ।
अग्राधिकार सेयर जारी पश्चात् एनआईसी एसियाले वार्षिक ८.५ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ भने नबिलले ८ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ । अहिले एनआईसी एशियाको पुँजी कोष दबाबमा छ । बैंकको प्राथमिक पुँजी अनुपात ८.२५ प्रतिशत मात्र छ ।
पुँजी कोष कम भएकै कारण यस बैंकले अघिल्लो वर्ष लाभांश वितरण गर्न पाएको थिएन । यस पटक पनि लाभांश वितरण गर्न पाउनेछैन । कुनै एक त्रैमासमा मात्र पनि पुँजी कोष दबाबमा परे सो आर्थिक वर्षको लाभांश बैंकहरुले घोषणा गर्न पाउँदैनन् ।