बैंकिङ खबर/ प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) तत्काल जारी नहुने भएको छ। लामो समयदेखि अध्यक्षविहीन नेपाल धितोपत्र बोर्डका कार्यवाहक अध्यक्ष नरेन्द्र रानाको पहिलो बोर्ड बैठकले आईपीओबारे कुनै निर्णय गर्न नसकेको हो।
मंगलबार साँझ पहिलो बोर्ड बैठक बसे पनि निर्णयविहीन बनेको छ। बोर्डका अध्यक्ष रानाले अर्को बैठकसम्म आईपीओ निष्काशन नगर्ने बताए। बोर्डका प्रवक्ता डा.नवराज अधिकारीले नीतिगत व्यवस्था नभएसम्मका लागि आइपीओ निष्काशनको काम बन्द रहने जानकारी दिए।
निवर्तमान अध्यक्ष रमेश कुमार हमालको कार्यकाल सकिएपछि गत पुसबाट धितोपत्र बोर्ड अध्यक्षविहीन छ। जेठको पहिलो साता अर्थ मन्त्रालयले मन्त्रालयको प्रतिनिधिको रुपमा रानालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो।
योसँगै धितोपत्र बोर्डमा यथा अवस्थामा रहेको आईपीओ निष्काशनले निरन्तरता पाउने आशा थियो। यद्यपि बोर्डको अर्को बैठक नबसुन्जेल आईपीओ निष्काशन नहुने भएको छ।




