बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले धेरैजसो साइबर ठगी ग्राहकको कमजोरीले हुने गरेको बताएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) लाई प्राप्ति गरी सुरु गरेको एकीकृत कारोबार उद्घाटन गर्दै उनले डिजिटल फाइनान्सियल सर्भिस विकास क्रमसँगै जोखिम बढेर गएको बताए ।
डिजिटल फाइनान्सियल सर्भिसका जोखिम केलाउँदा सेवा प्रदायक संस्थाका कमजोरीभन्दा पनि ग्राहकको कमजोरीका कारण बढी ठगीका घटना हुने गरेको देखिएको उनले बताए ।
संस्थागत रूपमा भएका कमी कमजोरी राष्ट्र बैंकले जारी गरेको नीति निर्देशनका कारण र उक्त निर्देशन कार्यान्वयन नहुँदा हुने कारबाहीले गर्दा सुधार गर्न सकिने उनको भनाइ छ ।
ग्राहकबाट हुने कमी कमजोरीबाट हुने ठगी नियन्त्रण गर्नु चुनौतीपूर्ण भएको उनले बताए । गभर्नर अधिकारीले नेपालको फिनटेक पूर्वाधार कमजोर नरहेको बताए । धेरै अन्तर्राष्ट्रिय फिनटेक फेस्टिभलमा सहभागी हुँदा नेपालको फिनटेक प्रडक्ट अन्तर्राष्ट्रिय रूपमा कमजोर नरहेको पाएको उनले बताए ।
यो पूर्वाधार बनाउन राष्ट्र बैंकको भूमिका वातावरण बनाइदिने मात्रै भएको र यसमा फिनटेक क्षेत्रमा काम गर्नेको नै योगदान रहेको उनले बताए ।
दिगो हुन भुक्तानी सम्बन्धी कार्य गर्ने कम्पनीको मर्जर आवश्यक रहेको उनले बताए । एनसीएचएल र नेप्सको मर्जरका लागि नभई सिनर्जीका लागि भएको उनको दाबी छ ।
उनले फिनटेक पूर्वाधारमा अनावश्यक राष्ट्रिय स्रोत साधन खर्च हुनबाट जोगाउन पनि इन्ट्रिग्रेसन आवश्यक रहेको बताए । त्यसलाई हेरेर नै राष्ट्र बैंकले भुक्तानीको कार्य गर्ने संस्थाबीच एकीकरणको नीति लिएको बताए ।




