May 29th, 2024

बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्रै छः गभर्नर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले ल्याएको बजेटको आकार स्रोत अनुमान समितिले दिएको नयाँ सिलिङभित्र नै आएको बताएका छन् । बुधबार सिंहदरबारस्थित अर्थ मन्त्रलायमा संघीय संसदमा पेस गरेको बजेटका विषयमा पत्रकारहरूसँगको अन्तर्क्रिया कार्यक्रममा उनले बजेट भाषणको अघिल्लो दिन स्रोत अनुमान समितिले बजेटको सिलिङ बढाएको बताए । गभर्नर अधिकारीले कानुनअनुसार नै माघमा गरिएको बजेट अनुमान पछिल्लो चार महिनामा भएका विकासक्रमका आधारमा पुनरावलोकन गरेको स्वीकार गरे ।

गभर्नर अधिकारीले स्रोत समितिमा व्यापक छलफल गरेर जेठ १४ गते कानुनी व्यवस्थाअनुसार सिलिङ पुनरावलोकन गरिएको बताए । उनले विशेषगरी दातृ निकायको प्रतिबद्धताअनुसार वैदेशिक अनुदानमा बढोत्तरी हुने अर्थ मन्त्रालयको अनुमान र प्राकृतिक स्रोत तथा वित्त आयोगले यसअघि आकलन गरेको भन्दा बढी आन्तरिक ऋण उठाउन सक्ने बाटो देखाएकाले स्रोत पुनरावलोकन गरिएको बताए ।

गभर्नर अधिकारीले प्राकृतिक स्रोत तथा वित्त आयोगले आकलन गरेको ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखिएको बताए । उनले गत वर्षको मध्यमकालीन खर्च संरचनाअनुसार यसवर्ष साढे १९ खर्बको बजेट आउनुपर्ने भए पनि बजेट सानो आकारमा आएको बताए ।

अर्थ सचिव मधुकुमार मरासिनीले स्रोत अनुमान समितिले माघमा दिएको बजेट सिलिङ जेठसम्म आउँदा स्वाभाविक रूपमा बढ्ने बताए । उनले बजेट सिलिङपछिका आवश्यकता र विकासक्रमका आधारमा बजेटको आकार वृद्धि हुने अवस्था रहेको बताए । उनले बजेटको सिलिङपछि मन्त्रालयगत रूपमा आयोजनाहरू थपिने भएकाले समावेश गर्दा आकारमा तलमाथि हुने गरेको बताए ।
अर्थ सचिव मरासिनीले त्यस्तो हुने भएकाले स्रोत अनुमान समितिले बजेटको अघिल्लो दिन सिलिङ पुनरावलोकन गर्ने कानुनी व्यवस्था हुने गरेको बताए । उनले बजेटको सिलिङ बढाएको कुरा बाहिर सामान्यतया ल्याउने नगरिएको बताए । अर्थसचिव मरासिनीले सरकारले संसदमा पेस गरेको बजेटको आकारभन्दा सिलिङ बढिरहेको बताए । उनले अर्थमन्त्री ठूलो राजनीतिक दबाबका बीच पनि १८ खर्ब ६० अर्बको बजेट ल्याएको बताए ।