May 29th, 2024

५० अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक

बैंकिङ खबर/केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा मार्फत वित्तीय प्रणालीको तरलता खिच्न नसकेपछि निक्षेप संकलन उपकरणको पनि प्रयोग गर्दै आएको छ । बुधबार स्थायी निक्षेप संकलन मार्फत १८ अर्ब २५ करोड लिएको केन्द्रीय बैंकले बिहीबार ५० अर्बको निक्षेप संकलन गर्ने भएको हो ।

अर्थतन्त्रमा आएको सुस्तताका कारण बैंक तथा वित्तीय संस्थामा कर्जा माग अपेक्षा गरे अनुसार हुन सकेन । साथै रेमिट्यान्स आप्रबाहमा आएको निरन्तर सुधारले वित्तीय प्रणालीको निक्षेप बढ्न मद्दत पुग्यो । त्यसले गर्दा पनि वित्तीय प्रणालीमा अधिक तरलताको समस्या देखिएको हो ।

वित्तीय प्रणालीमा देखिएको अधिक तरलताका कारण बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर पनि क्रमिक रुपमा घटाउदै आएका छन् । तर पनि कर्जाको माग बढ्न सकेको छैन । केन्द्रीय बैंकले अनुत्पादक क्षेत्रको कर्जा नियन्त्रण गर्न नीतिगत कडाइ गरेकाले पनि कर्जा लगानी बढ्न नसकेको हो ।

बैंकहरुले पनि कर्जा लगानी विस्तार भन्दा पनि कोरोना तथा आर्थिक मन्दीका कारण ‘डिफल्ट’ भएको कर्जा असुलीमा केन्द्रीत हुन थाले । बढ्दो खराब कर्जाका कारण बैंकहरु असुलीमा केन्द्रीत हुँदा पनि कर्जा लगानी सुस्त हुनुमा मद्दत पुग्यो । त्यसले समेत अधिक तरलताको समस्या बढ्नमा सहयोग पुगेको हो।

बुधबार बैंक तथा वित्तीय संस्थाले १८ अर्ब २५ करोड रुपैयाँ सिधै केन्द्रीय बैंकमा निक्षेप राखेका छन् । त्यसका साथै वित्तीय प्रणालीको अधिक तरलता नघट्ने भएपछि बिहीबार केन्द्रीय बैंकले १४ दिन अवधिको ५० अर्ब निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्ने भएकोे हो ।

केन्द्रीय बैंकले यसभन्दा अघि निक्षेप संकलन मार्फत लिएको पैसा बिहीबार परिपक्क हुदैछ । बिहीबार पुरानो निक्षेप परिपक्क हुने भएपछि त्यसलाई बजारमा फिर्ता पठाउँदा अधिक तरलताको समस्या झनै जटिल हुने भएकाले त्यसलाई केन्द्रीय बैंकले नै राख्नका लागि बिहीबार पुन निक्षेप संकलन गर्ने भएको हो ।

केन्द्रीय बैंकले अन्तर बैंक ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम भएको खण्डमा निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्छ। निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोल मार्फत निर्धारण हुन्छ । पछिल्लो समयमा अन्तर बंैक ब्याजदर २.९९ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।