May 21st, 2024

राष्ट्रिय वित्तीय प्रणालीमा बीमा क्षेत्रको योगदान ६.५५ प्रतिशतः राष्ट्र बैंक

बैंकिङ खबर/ कुल राष्ट्रिय वित्तीय प्रणालीमा बीमा क्षेत्रले ६.५५ प्रतिशतको योगदान पुर्याएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकले सार्वजनिक गरेको ‘डेभलप म्याक्रो स्ट्रेस टेष्टिङ फ्रेमवर्क फर स्टाविलिटी एसेसमेण्ट’(‘वित्तीय स्थिरता मूल्याङ्कनको लागि समष्टिगत दबाब परीक्षण संरचनाको विकास’) अध्ययन प्रतिवेदनका अनुसार वित्तीय प्रणालीमा बीमा क्षेत्रको हिस्साको आधारमा गैर बैंकिङ वित्तीय संस्थापछिको रोल क्रममा रहेको छ।

राष्ट्र बैंकको प्रतिवेदन अनुसार गैर वित्तीय संस्था कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको योगदान ६.८८ प्रतिशत रहेको छ। यसमा सामाजिक सुरक्षा कोषको समेत योगदान जोड्दा यो हिस्सा अझै बढ्नेछ।

नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार गत आव २०७९।८० मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीको कूल लगानी ६ खर्ब २८ अर्ब ९५ करोड रूपैयाँ रहेको थियो ।

अघिल्लो आवमा जीवन र निर्जीवन बीमा कम्पनीबाट कूल ५ खर्ब २७ अर्ब ३६ करोड रूपैयाँ लगानी गरिएको थियो । प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष २०८०।८१ को तेश्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीबाट मात्र ६ खर्ब ६० अर्ब रूपैयाँ लगानी भएको छ। यसैगरी कुल वित्तीय प्रणालीमा बैंकिङ क्षेत्रको सर्वाधिक ८६.६ प्रतिशत योगदान रहेको छ।