May 17th, 2024

९ महिनामा २३८ अर्ब ९४ करोड ऋण परिचालन

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०–८१ को नौ महिनासम्ममा चालु खर्च रु.६४४ अर्ब ३ करोड भएको जनाएको छ । आर्थिक वर्ष २०८०-८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले पुँजीगत खर्च रु.९७ अर्ब ३८ करोड र वित्तीय व्यवस्था खर्च रु.१६७ अर्ब ९९ करोड भएको जनाएको छ ।

सो अवधिमा नेपाल सरकारको कुल खर्च रु।९०९ अर्ब ३९ करोड भएको महालेखा नियन्त्रक कार्यालयलाई उद्धृत गर्दै राष्ट्र बैंकले जनाएको छ ।
यस अवधिमा सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) रु.७४८ अर्ब ४ करोड भएको छ ।

यस्तै समीक्षा अवधिमा सरकारी खर्च गत वर्षको सोही अवधिको तुलनामा ३.६ प्रतिशतले घटेको छ भने राजस्व परिचालन ९.४ प्रतिशतले बढेको छ ।

यस्तै सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार आर्थिक वर्ष २०८०-८१ को नौ महिनासम्ममा सरकारले रु.१७६ अर्ब आन्तरिक र रु.६२ अर्ब ९४ करोड बाह्य गरी कुल रु.२३८ अर्ब ९४ करोड ऋण परिचालन गरेको बैंकको त्रैमासिक समीक्षामा उल्लेख छ।