November 18th, 2016

साताभरमा ३९ अंकले घट्यो नेप्से : एभरेष्ट बैंकको मात्रै एक अर्ब ४० करोडको कारोबार

nepseसाताको अन्तिम दिन सेयर बजार ४०.८२ अंकले घटेर बन्द भयो । एभरेष्ट बैंक र नेशनल लाईफले घोषणा गरेको आकर्षक बोनस तथा हकप्रदको मौकामा ठूला लगानीकर्ताहरु सेयर बेच्न ओईरिएपछि नेप्से तीब्र रुपमा ओरालो लाग्यो । साताको पहिलो र दोस्रो दिन समान्य भएपनि हरियो भएको बजारले मंगलबारदेखि ओरालो बाटो समात्यो । साताको अन्तिम दिन १६५८.०८ अंकमा आएर बजार बन्द भयो । गत साताको अन्तिम दिन नेप्से परिसूचक १६९७.१७ अंकमा थियो । यस आधारबाट हेर्दा सेयर बजार साताभरमा ३९.०९ अंकले घटेको देखिन्छ ।

बजार घटेपनि कारोबार रकम बढ्यो । साताको पहिलो दिनदेखि नै कारोबार रकम निरन्तर बढिरहेको छ । आइतबार ७३ करोडभन्दा माथिको कारोबार भएको बजारमा सोमबार ७८ करोडभन्दा माथिको कारोबार भयो भने मंगलबार झन्डै ८१ करोडको कारोबार भयो । त्यस्तै, बुधबार एक अर्ब १९ करोडको कारोबार भएको बजारमा विहीबार डेढ अर्बको कारोबारा भयो । समग्रमा साताभर पाँच अर्ब दुई करोड ४८ लाख ८१ हजार तीन सय ३५ रुपैयाँ पुँजी परिचालन भयो ।

यो साता एभरेष्ट बैंकको लगानीकर्ताको अत्याधिक चाप रह्यो । एभरेष्ट बैंकको मात्रै एक अर्ब ४० करोड ७५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो । त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सको ३० करोडको हाराहारीमा पुँजी परिचालन भएको छ । यसबाहेक शिखर इन्स्योरेन्स, बैंक अफ काठमाण्डू लुम्बिनी, सिद्धार्थ बैंक, सिभिल बैंक लगायतको राम्रै कारोबार भएको छ । 

बजार निरन्तर घटेपछि कुनै कम्पनीका सेयरधनीले पनि उल्लेख्य रुपमा कमाइ गर्न सकेनन् । शुभेच्छा विकास बैंकलाई गाभेर यसै सातादेखि एकीकृत कारोबार थालेको गरिमा विकास बैंकका सेयरधनीले धेरथोर कमाए । यो साता महिला सहयात्रा माइक्रोफाइनान्सका सेयरधनीले सबैभन्दा धेरै गुमाए । राष्ट्रिय बीमा कम्पनी, आईएलएफसिओ माइक्रोफाइनान्स, रुरल माइक्रोफाइनान्स, मुक्तिनाथ विकास बैंक लगायतका सेयरधनीले पनि गुमाएका छन् ।