बैंकिङ खबर/ घरजग्गामा बैंकहरुको लगानी ६२५ अर्बभन्दा बढी रहेको पाइएको छ । नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको रियल स्टेट सम्मेलनको दोस्रो दिनको कार्यक्रममा सो जानकारी दिइएको हो ।
उनीहरुले घरजग्गा व्यवसाय मुलुकको वित्तीय स्थायित्व कायम गर्नको लागि पनि सबल र व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका छन् । पछिल्लो समय घरजग्गा कारोबारमा आएको सिथिलता र विविध समस्याको कारण अर्थतन्त्रमा असर परेको दाबी सरोकारवालाहरुको थियो । घरजग्गा व्यवसायमा देखिएका समस्या बैंकिङ क्षेत्रको स्थायित्वको लागि पनि समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए । उनीहरुले बैंकहरुले घरजग्गामा ६२५ अर्बभन्दा बढी लगानी रहेको दाबी गरे ।
उनीहरुले बैंकमा ६ खर्बको लगानी मात्रै नभएर ३५ अर्ब भन्दा बढीको घरजग्गा धितोको रुपमा बैंकहरुले लिएको बताए । कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले सुरक्षित बैंक र वित्तीय स्थायित्वको लागि भए व्यवसायीका समस्या चाँडै समाधान हुनुपर्ने बताए ।
राष्ट्र बैंकले घरजग्गा कारोबारलाई संस्थागत बनाउनेतर्फ नीतिहरु उन्मुख गराएको पौडेलले बताए । राष्ट्र बैंकले संस्थागत रुपमा दर्ता भएर गरिने रियल स्टेटलाई लोन टु भ्यालु रेसियो बढी नै गरेको उनले बताए । व्यवस्थित रुपमा कारोबार गर्ने व्यवसायीक संस्थाहरुलाई सहुलियत दिने नीति लिएको उनको भनाइ छ । निर्देशक पौडेलले राष्ट्र बैंकले रियल स्टेट व्यवसाय संगठित भएर आउनुपर्छ भन्ने मान्यता अनुरुप नीतिहरु बनाइ रहेको बताए । असंगठित क्षेत्रले काम गर्दा विभिन्न विकृति,अपरदर्शी र राज्यको राजस्व गुम्ने उनले बताए । अव्यवस्थित घरजग्गा कारोबारले बैकिङ क्षेत्रमा समेत समस्या पर्नसक्ने विषयमा राष्ट्र बैंक सचेत रहेको उनको भनाइ छ ।
नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले घरजग्गा व्यवसायमा नेपालका बैंकहरुले करिब ६२५ अर्बभन्दा बढी लगानी रहेको बताए । बैंकहरुको कर्जाको करिब १३ प्रतिशत लगानी घरजग्गा व्यवसायमा रहेकाले बैंकहरुको प्राथमिक क्षेत्र पनि भएको उनको भनाइ छ ।
बैंकहरुको जलविद्युतमा गरेको लगानी भन्दा दुई गुणा बढी,कृषिमा बराबरी जस्तो घरजग्गामा लगानी रहेको केसीले बताए । केसीले घरजग्गा कारोबारलाई आम मानिस र सरकारले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन आवश्यक रहेको उल्लेख गरे ।
विगतमा बैंकहरुको कर्जाको ब्याजदर घट्दा घरजग्गा कारोबार वृद्धि हुने गरेको भए पनि पछिल्लो समय बैंकहरुको ब्याजदर कम हुँदा पनि घरजग्गा कारोबारमा वृद्धि हुन नसकेको उनले बताए । घरजग्गा कारोबारलाई अनुत्पादनको क्षेत्रका रुपमा सरकारले हेर्न नहुने उनको भनाइ छ । अर्थतन्त्रको मेरुदण्डको रुपमा सबैले घरजग्गा कारोबारलाई लिन सक्नुपर्ने बताए ।
बैंकिङ उद्योगले घरजग्गा कारोबारलाई सकारात्मक रुपमा लिएको उनको भनाइ छ । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले घरजग्गा कारोबार वृद्धि हुनुमा बैंकको ठूलो भुमिका रहेको बताए ।