बैंकिङ खबर/बैंकहरुको ब्याजदर घटेर न्यून विन्दुमा पुगेपछि बचतकर्ताहरु मारमा परेका छन् । मुद्दती निक्षेपको ब्याजदर घटेर ५ प्रतिशत हाराहारीमा पुगेकोछ। जसकारण यतिबेला बचतकर्ताहरु लगानीका लागि उपयुक्त क्षेत्र खोजिरहेका छन् ।
अहिले बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा ब्याजदर घट्न गएको हो । राष्ट्र बैंकका अनुसार, २०८० फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत रहेको छ ।
२०७९ फागुनमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.३७ प्रतिशत कायम भएको थियो । यस्तै विकास बैंकहरुको ७.९३ प्रतिशत र वित्त कम्पनीहरुको ९.१३ प्रतिशत रहेको छ । यस्तै बैशाख महिनामा बैंकहरुको औसत आधार दर ८.७५ प्रतिशत छ । गत साउनमा औसत आधार दर १०.११ रहेकोमा चैतसम्ममा क्रमशः घट्दै ८.७५ प्रतिशतमा झरेको हो ।
एक पटकमा १० प्रतिशतसम्म मात्रै ब्याजदर घटबढ गर्न पाउने राष्ट्र बैंकको नियन्त्रित व्यवस्थानुसार ब्याजदर घटाउँदै सार्वजनिक गर्दै आएका छन् । केही महिनायता निक्षेपको ब्याजदर निरन्तर घटेका कारण बैंकहरुको बेस रेट पनि घट्दै गएको हो ।
बैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.०७ प्रतिशत ब्याज दिइरहेका छन् । आगामी महिनाहरूमा बैंक ब्याजदर झनै घट्ने देखिन्छ ।




