बैंकिङ खबर/ देशभर सञ्चालनमा रहेका कुल ३४७ बैंक तथा वित्तीय संस्था गाभिएर १०९ वटा संस्था कायम भएका छन्। बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने सम्बन्धी प्रक्रिया शुरु गराएपश्चात् २०८० फागुन मसान्तसम्म कुल ३४७ बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिएका छन्।
बैंक तथा वित्तीय संस्थाहरूलाई गाभ्न र गाभिन प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिइएको छ। एक वर्षको अवधिमा मर्जर तथा प्राप्ति प्रक्रियामा संलग्न भई वाणिज्य बैंकको सङ्ख्या २० कायम भएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने र गाभिने तथा प्राप्तिसम्बन्धी प्रक्रिया सुरु गराएपश्चात् २०८० फागुन मसान्तसम्म कुल ३४७ बैंक तथा वित्तीय संस्था एकआपसमा गाभिएर १०९ वटा संस्था कायम भएका छन्। केही खारेज पनि भएका छन्।
समीक्षा अवधिमा वित्तीय पहुँच विस्तार भइरहेको राष्ट्र बैंकले जनाएको छ। २०८० फागुन मसान्तसम्म २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५५ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक गरी बैंक तथा वित्तीय संस्थाको कुल सङ्ख्या ११०छ।
चालु आवको फागुन मसान्तसम्म वाणिज्य बैंकका पाँच हजार ४१, विकास बैंकका एक हजार १३५, वित्त कम्पनीका २८८ र लघुवित्त वित्तीय संस्थाका पाँच हजार १३० गरी बैंक तथा वित्तीय संस्थाका कुल शाखा सङ्ख्या ११ हजार ५९४ पुगेको छ। यस अनुसार बैंक तथा वित्तीय संस्थाको प्रतिशाखाबाट औसतमा करिब दुई हजार ५१५ जनसङ्ख्याले सेवा प्राप्त गर्न सक्ने देखिएको राष्ट्र बैंकले जनाएको छ।