April 25th, 2024

बढ्न थाल्यो तरलता, ३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ३५ अर्ब तरलता खिच्ने भएको छ । बैंकले १४ दिने निक्षेप संकलन उपकरण मार्फत वैशाख १३ देखि वैशाख २७ गतेसम्मका लागि ३५ अर्ब निक्षेप संकलन गर्न लागेको हो ।

राष्ट्र बैंकबाट इजाजत पाएका क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलनको बोलकबोलका लागि आवेदन दिन सक्नेछन् । ती संस्थाले कम्तिमा १० करोड देखि सो भन्दा माथि ५ करोडले भाग गर्दा निशेष भाग जाने रकम ५० अर्बसम्मै बोल गर्न सक्नेछन् ।

संकलित निक्षेपको साँवा तथा ब्याज राष्ट्र बैंकले वैशाख २७ गते भुक्तान गर्नेछ । ब्याजको हकमा सबैभन्दा कम कबोल गरिएको ब्याजलाई पहिलो प्राथमिकतामा राखी त्यसै क्रमले बोल गरिएको रकम क्रमश: बाँडफाँड हुनेछ । यसरी निक्षेप संकलन गरिएको रकम तरलता अनुपात तथा एसएलआरमा बैंक तथा वित्तीय संस्थाले गणना गर्न पाउनेछन् । बैंक तथा वित्तीय संस्थामा तरलता बढे पनि कर्जा विस्तार भने उत्साहजनक हुनसकेको छैन ।