April 24th, 2024

बैंकहरुको उठ्न बाँकी ब्याज झण्डै १८ अर्ब

बैंकिङ खबर/ सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको चैतसम्म उठ्न बाँकी ब्याज झण्डै १८ अर्ब रहेको छ । २०८० चैत मसान्तसम्म वाणिज्य बैंकहरुको १८ अर्ब ८ करोड ७६ लाख ५ हजार रुपैयाँ ब्याज उठाउन बाँकी रहेको छ । बैंकहरुले चालु आवको ९ महिनाको अवधिमा उक्त रकम उठाउन सकेका छैनन् । चालु आर्थिक वर्षको ९ महिनामा सञ्चालनमा रहेका वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेको छ । बैंकहरुको खराब कर्जा बढ्दै गएको छ भने अधिकांश बैंकको वितरणयोग्य नाफा ऋणात्मक नै बन्दै गएको छ ।

चैत मसान्तसम्म बैंकहरुको १८ अर्ब ८ करोड ७६ लाख ५ हजार रुपैयाँ ब्याज उठाउन बाँकी रहेको छ । यो भनेको गत आवको चैत मसान्तको तुलनामा ११.१ प्रतिशतले बढी हो । गत आवको चैत मसान्तमा १६ अर्ब २७ करोड ११ लाख ८६ हजार रुपैयाँ उठाउन बाँकी रहेको थियो । २० वटा बैंकमध्ये २ वटा बैंकले उठाउनु पर्नेभन्दा बढी ब्याज उठाएका छन् । प्रभु बैंक र स्टयान्डर्ड चार्टर्ड बैंक ब्याज उठाउन निकै आक्रामक बनेको देखिएको छ । स्टयान्डर्ड चार्टर्ड बैंकले उठाउनु पर्नेभन्दा २३ करोड ८३ लाख ७ हजार रुपैयाँ बढी ब्याज उठाएको छ । यस्तै प्रभु बैंकले ९४ करोड ७० लाख १३ हजार रुपैयाँ बढी उठाएको छ । सबैभन्दा बढी उठाउन बाँकी ब्याज नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको रहेको छ । बैंकको उठाउँन बाँकी ब्याज ४८६.८८ प्रतिशतले बढेको छ।

गत चैत मसान्तमा उक्त बैंकको उठाउन बाँकी रहेको ब्याज ४१ करोड ७९ लाख ५२ हजार रुपैयाँ रहेको थियो । अहिले यो रकम ४८६.८८ प्रतिशतले बढेर २ अर्ब ४५ करोड ३८ लाख ७८ हजार रुपैयाँ रहेको छ । उठाउन बाँकी ब्याज २ अर्ब भन्दा बढी हुनेमा हिमालयन बैंक पनि रहेको छ । बैंकले उठाउन बाँकी २ अर्ब १६ करोड ४७ लाख ९८ हजार रुपैयाँ रहेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ६४.४६ प्रतिशतले बढेको छ । यस्तो रकम गत आवको सोही अवधिमा १ अर्ब ३१ करोड ६२ लाख ५६ हजार रुपैयाँ रहेको थियो ।

ब्याज उठाउन धेरै बाँकी हुने बैंकमा ग्लोबल आइएमई पनि रहेको छ । बैंकको उठाउन बाँकी ब्याज १.११ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४० लाख १४ हजार रुपैयाँ पुगेको छ । यस्तै राष्ट्रिय वाणिज्य बैंकको उठाउन बाँकी ब्याज १ अर्ब २४ करोड ४२ लाख ९७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ४ करोड ३४ लाख ४९ हजार रुपैयाँ उठाउन बाँकी रहेको थियो ।

एनएमबि बैंकको उठाउन बाँकी रकम ६.०७ प्रतिशतले बढेर १ अर्ब १ करोड ४३ लाख ४९ हजार रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २०२.६२ प्रतिशतले बढेर १ अर्ब ६१ करोड ८७ लाख ४० हजार, कुमारी बैंकको २६.३४ प्रतिशतले बढेर १ अर्ब ५२ करोड६ लाख ३४ हजार रुपैयाँ रहेको छ । नबिल, प्राइम, नेपाल बैंक, एनआईसी एशिया बैंक, एभरेष्ट बैंक, कृषि विकास बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, माछापुच्छ्रे बैंक र सिटिजन्स बैंकले उठाउन बाँकी ब्याजमा अग्रसरता देखाएका छन् ।