बैंकिङ खबर/नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्न अटेर गर्दै समग्र बैंकिङ प्रणालीलाई जोखिममा पार्ने काम गरेको पाइएको छ। नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले तयार पारेको प्रतिवेदनले सञ्चालक समितिदेखि प्रमुख कार्यकारी अधिकृतसम्मले नियामकीय निर्देशन उल्लंघन गर्ने गरेको पाइएको हो।
नियामकले दिएको नीति निर्देशन उल्लंघन गर्दै बैंकलाई मनोमानी तवरले चलाएर प्रणालीलाई नै जोखिममा पर्नेको पहिलो सूचीमा राष्ट्र बैंकले सञ्चालकहरुको भुमिका बढी रहेको ठहर गरेको छ। केन्द्रीय बैंकको ‘बैंक सुपरिवेक्षण रिपोर्ट, २०२२/२३’ अनुसार गत आर्थिक वर्षमा वाणिज्य बैंकहरुका सञ्चालक समितिले आफ्नो जिम्मेवारीमा रहेको काम र कर्तव्य पूरा गर्नमा भन्दा व्यक्तिगत ऋणीको कमिसन, ब्याजदर परिवर्तन र प्रकाशन, कर्मचारी नियुक्ति तथा सरुवा बढुवाका विषयमा बढी फोकस गरेरको पाइएको हो।
साथै, बैंकका कार्यकारी अधिकृत (सीईओ)को कार्य सम्पादन मूल्यांकन नगर्ने, उच्च व्यवस्थापनका कर्मचारीहरुले कर्जा प्रवाह प्रकृयामा हेल्चक्र्याँई गर्ने, राष्ट्र बैंकका नीति निर्देशनका ‘लुप होल’ खोज्दै व्यवसाय गरेको सार्वजनिक प्रतिवेदनमा उल्लेख छ।
राष्ट्र बैंकको वाणिज्य बैंक सुपरिवेक्षणले गर्ने नियमित स्थलगत निरीक्षण, लक्षित निरिक्षण, विशेष तथा सुक्ष्म निरिक्षण र गैरस्थलगत निरिक्षणका क्रममा भेटिएका विषयमा तयार प्रतिवेदनले नेपालको बैंकिङ प्रणालीमा बैंकका सञ्चालक तथा उच्च व्यवस्थापनकै कारण दिन प्रतिदिन जोखिमको खाल्डोमा फस्दै गएको प्रष्ट हुन्छ।
वाणिज्य बैंकहरुमा तरलता जोखिम, कर्जा जोखिम, व्यवस्थापन जोखिम, लेखा परीक्षकको काम तथा नियुक्ति प्रकृया, सम्पत्ति तथा दायित्व व्यवस्थापन, कर्मचारी व्यवस्थापन, बजार व्यवस्थापन, एएमएल/सिएफटी लगायत संस्था व्यवस्थामा बैंकहरुले अत्याधिक त्रुटी गरेको राष्ट्र बैंकको ठहर छ।
FINAL-BSD-Annual-Report-2022-23



