April 9th, 2024

कर्जाको माग नबढ्दा बैंकहरुमा थुप्रियो पैसा

बैंकिङ खबर/ कर्जाको माग नबढ्दा बैंकिङ प्रणालीमा पैसा थुप्रिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा हाल करिब ६० अर्ब रुपैयाँ अधिक तरलता लगानीयोग्य रकम रहेको छ।

केन्द्रीय बैंकको तथ्यांकअनुसार चैत २६ गतेसम्म बैंक तथा वित्तीयहरुको कुल ६१ खर्ब २३ अर्ब रुपैयाँ रहेको छ। गत चैत २१ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ६१ खर्ब ६ अर्ब रुपैयाँ रहेको थियो। यो ५ दिनको अवधिमा कुल निक्षेप १७ अर्ब रुपैयाँले बढेको छ।

यो ५ दिनमा वाणिज्य बैंकहरुको कुल निक्षेप पनि १४ अर्ब रुपैयाँले बढेको छ। गत चैत २१ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ५३ खर्ब ९४ अर्ब रुपैयाँ रहेकोमा चैत २६ गतेसम्म बढेर ५४ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ।

चैत २६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट ५० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। गत चैत २१ गतेसम्म पनि ५० खर्ब ८८ अर्ब रुपैयाँ नै कर्जा प्रवाह भएको थियो। कर्जा प्रवाह भने स्थिर रहेको छ। चैत २६ गतेसम्म बैंकहरुको अन्तरबैंक दर ३.३१ प्रतिशत रहेको छ भने सीडी रेसियो ८० प्रतिशत माथि रहेको छ।