April 4th, 2024

कार्डमा अनाधिकृत रुपमा पहुँच हुन नदिउँ : राष्ट्र बैंक

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले कार्डमा अनाधिकृत रुपमा पहुँच हुन नदिन र प्रविधिको सही उपयोग गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले सचेतना सन्देश जारी गर्दै कन्ट्याक्टलेस पेमेन्ट प्रणाली कार्ड वा मोबाइल एप वा डिजिटल वालेटबाट प्रयोग गर्न सकिने उल्लेख गरेको छ ।

नेपालमा पनि कन्ट्याक्टलेस पेमेन्टको सुरुवात भइसकेको छ । आजभोली बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रायजसो कार्डमा आवाजको संकेत भएको सानो चिन्ह देख्न सकिन्छ । राष्ट्र बैंकले भनेको छ, ‘यी कार्डले नियर फिल्ड कम्युनिकेशन प्रणाली(एनएफसी) प्रणालीबाट कार्य गर्छन् । यस्ता कार्डबाट पीन नहाली यस्तो चिन्ह भएको पीऔएस मेसिनमा छोएर(ट्याप मात्रै गरेर) विना झन्झट सरल तरिकाले गर्न सकिने भुक्तानी नै कन्ट्याक्टलेस पेमेन्ट हो । यसलाई ट्याप टु पे वा ट्याप एण्ड पे पनि भन्ने गरिन्छ ।’

नेपालमा हाल राष्ट्र बैंकले यसमार्फत प्रतिकारोबार अधिकतम ५ हजार रुपैयाँसम्म भुक्तनी गर्न सकिने व्यवस्था गरेको छ ।

किन राखिएको हो यस्तो सीमा ?

एनएफसी प्रविधिको प्रयोगले यस्तो भुक्तानी अत्यन्तै सहज भएको छ । तर पिनबीना नै कारोबार हुने भएकाले कार्डबाट हुन सक्ने अनाधिकृत कारोबारको जोखिम न्यूनीकरणको लागि यस्तो सीमा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो कार्डको दुरुपयोग रोक्न आफ्नो कार्ड आफैसँगै सुरक्षित राख्नुपर्ने केन्द्रीय बैंकले उल्लेख गरेको छ । यस्तो कार्डमा अनाधिकृत पहँच नदिन र प्रविधिको सही उपयोग गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।