March 29th, 2024

राष्ट्र बैंकको सम्पत्ति साढे १८ खर्ब

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकको कुल सम्पत्ति साढे १८ खर्ब रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले चालू वर्षको आठ महिनामा पौने ३ खर्बको सम्पत्ति थपेको हो।

गत असार मसान्तसम्म राष्ट्र बैंकको कुल सम्पत्ति १५ खर्ब ८८ अर्ब १२ करोड रुपैयाँ मौज्दात थियो। फागुन मसान्तसम्म आइपुग्दा यस्तो सम्पत्ति २ खर्ब ७१ अर्ब रुपैयाँले थप भएर १८ अर्ब ५९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकद्वारा सार्वजनिक फागुन मसान्तसम्मको वित्तीय विवरणअनुसार सो अवधिमा बैंकको विदेशी मुद्रा सम्पत्ति १७ खर्ब ५२ अर्ब २३ करोड छ भने १ अर्ब ६ अर्ब ८३ करोड बराबरको स्वदेशी मुद्रा सम्पत्ति रहेको छ।

राष्ट्र बैंकले विदेशका विभिन्न बैंक खातामा १ खर्ब ८२ अर्ब ९० करोड रुपैयाँ राखेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सम्बद्ध २५ अर्ब ३० करोड, ५ खर्ब ८६ अर्ब ४८ करोड विदेशी बैंकमा टर्म डिपोजिट, ८ खर्ब ८३ अर्ब ७ करोड विदेशी ऋणपत्रमा लगानी, ७४ अर्ब ५२ करोड विदेशी सुनमा लगानी गरेको छ।

यस्तै, राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थामा ४० लाख रुपैयाँ राखेको छ भने ३६ अर्ब १७ करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरेको छ। बाँकी राष्ट्र बैंकले सरकार, बैंक तथा वित्तीय संस्थालाई दिएको कर्जा सापटीलगायत सम्पत्ति रहेको छ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]