Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एआईआईबीको टोलीसँग राष्ट्र बैंकको ‘ब्रिफिङ’ : ‘नेपालमा लगानीको वातावरण सहज छ’

admin २०८० चैत्र १३ गते
सेयर:

बैंकिङ खबर/नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच मंगलबार भेटवार्ता भएको छ। एआईआईबी सञ्चालक समितिका सदस्य आर.एम.पी. रथनायकेको नेतृत्वको उक्त टोलीले गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्रसहित बैंकका अधिकारीहरूसँग भेटवार्ता गरेको हो।

भेटका अवसरमा गभर्नर अधिकारीले नेपालको कुल गार्हस्थ्य उत्पादन, मुद्रास्फीति, विदेशी विनिमय सञ्चिति, बाह्य क्षेत्रलगायत मुलुकको वर्तमान आर्थिक स्थितिबारे चर्चा गरे। साथै, नेपालमा वैदेशिक लगानीको निम्ति वातावरण सहज रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले लगानी स्वीकृति प्रक्रिया र संस्थागत व्यवस्थाबारे भ्रमण टोलीलाई जानकारी गराए।

नेपाल राष्ट्र बैंकको प्रभावकारी नियमन र सुपरिवेक्षणका कारण नेपालको वित्तीय क्षेत्रको समग्र अवस्था सन्तोषजनक रहेको धारणा राखे। नेपालको पूर्वाधार विकासको लागि आन्तरिक स्रोत अपुग रहेको उल्लेख गर्दै उनले एआईआईबी जस्ता संस्थाले जलविद्युत, प्रसारण लाइनलगायतका पूर्वाधार क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकतामा जोड दिए।

भेटका अवसरमा एआईआईबीको टोली प्रमुख रथनायकेसहित अन्य सदस्यहरूले नेपालमा वैदेशिक लगानीको लागि नीतिगत व्यवस्था, एआईआईबीले लगानी गर्नसक्ने पूर्वाधार क्षेत्र, ऋण स्वीकृति प्रक्रिया र ऋणको ब्याजदरलगायतका विषयमा चासो राखे।

साथै, उनीहरूले नेपालमा जलवायु परिवर्तनका कारण सिर्जित चुनौतीलाई सम्बोधन गर्नका निम्ति भएका नीतिगत प्रयासबारे जिज्ञासा राखे। कार्यक्रममा नेपालको विकासका प्राथमिकता, पूर्वाधार विकासमा लगानीका अवसरलगायतका विभिन्न विषयमा दुईपक्षीय छलफल भएको थियो।

भेटवार्तामा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशकहरू डा.नेफिल मातङ्गि मास्के, डा. गुणाकर भट्ट, डा. प्रकाशकुमार श्रेष्ठ, गुरुप्रसाद पौडेललगायतका अधिकारीको उपस्थिति थियो। मूलतः एसियाली र अन्य सदस्य मुलुकको दिगो र हरित पूर्वाधार विकासमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यसहित सन् २०१६ मा एआईआईबीको स्थापना भएको हो। यसको मुख्यालय चीनको बेइजिङमा रहेको छ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।