March 19th, 2024

बैंकहरुमा करिब २ अर्ब लगानी गर्दै राष्ट्र बैंक, ब्याजदर प्रस्ताव गर्न आह्वान

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकको करिब २ अर्ब रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंकको विभिन्न कोषमा रहेको कुल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ बैंकहरुको मुद्दति निक्षेपमा राख्न लागिएको जनाएको हो। राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्त कम्पनीमा उक्त रकम मुद्दति निक्षेपका रुपमा राख्नेछ।

केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा १ अर्ब ५२ करोड ८९ लाख रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २८ करोड ६६ लाख रुपैयाँ र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा ९ करोड ५५ लाख रुपैयाँ मुद्दति निक्षेपमा राखिनेछ।

आफूले मुद्दति निक्षेपमा लिन चाहेको रकम र प्रस्ताव गरेको ब्याजदरसमेत उल्लेख गरी आवेदन दिन केन्द्रीय बैंकले बैंकहरुलाई आह्वान गरेको छ। आउँदो वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म ३६६ दिनका लागि उक्त रकम मुद्दति निक्षेपमा राखिने राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले चैत ८ गते राति १२ बजेभित्र ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]