बैंकिङ खबर/पछिल्लो वर्षमा अवासीय कर्जा बढ्न थालेको छ । बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने व्यक्तिगत आवासीय घर कर्जा पछिल्लो समय उल्लेख्य बढेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षको सात महिनामा बैंक तथा वित्तीय संस्थाले ३२ अर्ब ५१ करोड ८८ लाख रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा दिएका छन् । यो गत आवको माघ मसान्तसम्मको तुलनामा भने ३ दशमलव ५३ गुणा बढी हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार यस्तो कर्जा गत आवको सोही अवधिको तुलनामा २५३ दशमलव ४३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सात महिनामा बैंकको ९ अर्ब २० करोड ९ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
अहिले सहज रूपमा कर्जा प्रवाह हुन थालेपछि नै २ करोडसम्मको व्यक्तिगत घर कर्जा उल्लेख्य बढेको हो । यता, बैंक तथा वित्तीय संस्थाहरूले नै घर कर्जा लगानी बढाउन कै लागि विभिन्न स्किम समेत ल्याएका छन् । विशेषगरी सस्तो ब्याजदरमा कर्जा उपलब्ध गराउन एक किसिमको प्रतिस्पर्धा नै देखिन्छ ।




