March 16th, 2024

नेपालीले तेस्रो मुलुकमा क्यूआर भुक्तानी गर्न सक्ने(पूर्णपाठ)

बैंकिङ खबर/ नेपालीले क्यूआरमार्फत भारतबाहेकका तेस्रो मुलुकमा परिवर्त्य विदेशी मुद्रामा भुक्तानी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंक विदेशी विनियम व्यवस्थापन विभागले जारी गरेको एकीकृत निर्देशनमा संशोधन गर्दै वाणिज्य बैंक तथा राष्ट्रिय स्तरको विकास बैंकमा खाता हुने नेपालीले विदेशमा क्यूआर मार्फत भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो ।

‘परिवर्त्य विदेशी मुद्राको सटही सुविधा नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको बैंक खातामा आबद्ध क्यूआर कोड मार्फत राष्ट्रिय भुक्तानी स्वीचको माध्यमबाट विदेशमा भुक्तानी हुन सक्ने गरी प्रदान गर्न सकिनेछ,’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ ।

विदेश भ्रमणमा जाने नेपालीले विदेशी मुद्राको सटही सुविधा पाउने राष्ट्र बैंकको शर्त तथा सुविधाभित्र रहेर उक्त सटही सुविधा प्रदान गर्नुपर्ने निर्देशनमा उलेख छ । हाल विदेश भ्रमणमा जाने नेपालीलाई राष्ट्र बैंकले २ हजार ५ सय अमेरिकी डलर बराबरको सटही सुविधा दिने गरिएको छ ।

हाल भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकले एकपटकमा २ हजार ५०० डलरमा नबढ्ने गरी वर्षमा २ पटक सटही सुविधा पाउँछन् ।

यस्तै, वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत सटही सुविधा उपलव्ध गराउँदा जापान, दक्षिण कोरिया, युरोप महादेश, अमेरिका, क्यानाडा जानेको हकमाः अधिकतम अमेरिकी डलर ५०० सम्म प्रदान गर्न सकिने व्यवस्था छ । यस्तै, अन्य मुलुक जानेलाई अधिकतम् २०० डलर सम्मको सुविधा प्रदान गर्न सकिने व्यवस्था छ । नेपाल सरकारले जारी गरेको यात्रा अनुमतिपत्रको आधारमा विदेश भ्रमणमा जानेले भने १ हजार डलरसम्मको सुविधा पाउने व्यवस्था छ ।

09_2080-81_Unified-Circular_QR-Code