March 13th, 2024

१७ वाणिज्य बैंकहरुले घटाए ब्याजदर, एनआईसी एशियाले बढायो, दुईको स्थिर

बैंकिङ खबर/सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । प्रकाशित सूचना अनुसार १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् भने एनआईसी एशियाले बढाएको छ। दुई वाणिज्य बैंकहरुले भने फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्।

बैंकहरुको ब्याजदर औषतमा ०.५०४२ प्रतिशतविन्दु घटेको छ। फागुन महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा ७.७५ प्रतिशतविन्दु रहेको २० बैंकहरुको अधिकतम औषत ब्याजदर चैत महिनामा घटेर ७.२५ प्रतिशतविन्दुमा झरेको छ। १७ वाणिज्य बैंकहरुले ब्याजदर घटाएसँगै औषत ब्याजदर पनि घट्न पुगेको हो।

बैंकहरुको संस्थागत मुद्दति निक्षेपको ब्याजदर भने बढेको छ। फागुनमा ५.७४ प्रतिशतविन्दु रहेको बैंकहरुको संस्थागत निक्षेपको अधिकतम औषत ब्याजदर, चैत महिनामा ०.२६ प्रतिशतविन्दु बढेर ६ प्रतिशतविन्दु पुगेको छ।

एनआईसी एशिया बैंकले चैत महिनामा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ८.५४ प्रतिशतका दरले ब्याज दिने भएको छ। फागुनमा बैंकको यस्तो ब्याजदर ८ प्रतिशत थियो। त्यसैगरी, बैंकले संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर पनि ६ प्रतिशतबाट बढाएर ७.५४ प्रतिशत पुर्याएको छ।

फागुन महिनाको तुलनामा चैत महिनामा सबैभन्दा बढी ब्याजदर घटाउने बैंकमा एभरेष्ट बैंक र एनएमबि बैंक रहेका छन्। यी दुबै बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर १.५ प्रतिशतविन्दु घटाएका छन् भने संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.५ प्रतिशतविन्दु घटाएका छन्।

व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा प्रभु बैंक र ग्लोबल आइएमई बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यी दुई बैंकले यस्तो खातामा चैत महिनामा पनि ७.५ प्रतिशतका दरले नै ब्याज दिने भएका छन्। यद्यपि, यी दुई बैंकहरुको संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदर भने १ प्रतिशतविन्दु बढेको छ।

२० बैंकहरुमध्ये कृषि विकास बैंकको ब्याजर सबैभन्दा कम रहेको छ। यस बै)कले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतममा ५.६६१ प्रतिशतका दरले ब्याज दिने भएको छ भने संस्थागतमा अधिकतम ४.०१ प्रतिशतका दरले ब्याज दिने भएको छ।