Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एक वर्षमा कर्जाको व्याजदर १५ प्रतिशतले घट्यो

२०८० फाल्गुन २७ गते

बैंकिङ खबर/ वाणिज्य बैंकबाट प्रवाह हुने कर्जाको व्याजदर एक वर्षमा १५ प्रतिशतले घटेको छ। गत वर्ष माघमा बैंकबाट प्रवाह हुने कर्जाको व्याजदर १३.०३ थियो । चालु आवको सोही अविधमा यस्तो व्याजदर ११.०८ प्रतिशत रहेको छ । तथ्यांकअनुसार कर्जाको व्याजदर १.९५ प्रतिशत बिन्दुले घटेको छ । जुन १५ प्रतिशत हुन आउँछ ।

पछिल्लो समय निक्षेपमा बैंक तथा वित्तीय संस्थाले दिने व्याजदर घटाएका छन् । जसले गर्दा आधारदर घट्न गएको र जसका कारण कर्जाको व्याजदर पनि घटेको हो । २०७९ माघमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ९.७९ प्रतिशत रहेकोमा २०८० माघमा ३.३४ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०७९ माघमा ५.२९ प्रतिशत रहेकोमा २०८० माघमा ३.०४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८० माघमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.०६ प्रतिशत,विकास बैंकहरुको ११.१३ प्रतिशत र वित्त कम्पनीहरुको १२.७० प्रतिशत रहेको छ । अघिल्लो वर्षको माघमा वाणिज्य बैंकहरुको औसत आधार दर १०.७२ प्रतिशत रहेको थियो।

२०८० माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.०१ प्रतिशत, विकास बैंकहरुको ८.२६ प्रतिशत र वित्त कम्पनीहरुको ९.४५ प्रतिशत रहेको छ । २०७९ माघमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ८.४१ प्रतिशत कायम भएको थियो।

त्यसैगरी, कर्जाको भारित औसत ब्याजदर २०८० माघमा वाणिज्य बैंकहरुको ११.०८ प्रतिशत, विकास बैंकहरुको १२.८५ प्रतिशत र वित्त कम्पनीहरुको १३.९३ प्रतिशत रहेको छ ।

२०७९ माघमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत कायम भएको थियो।