Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

चलायमान बन्दै अर्थतन्त्र, यस्ता छन् सात महिनाका सूचक

२०८० फाल्गुन २७ गते

बैंकिङ खबर/ चालू आर्थिक वर्षको ७ महिनाको आर्थिक सूचकसहितको प्रतिवेदन नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको छ। यसअनुसार विभिन्न सूचक र तथ्याङ्कले अब अर्थतन्त्र चलायमान बन्ने देखिएको हो। नेपालको बाह्य क्षेत्रको अवस्था गत वर्षदेखि नै सबल छ। बाह्य क्षेत्र चालू आर्थिक वर्षको ७ महिनामा झन् मजबुत बन्दै गएको हो।

नेपाल भित्रिने र बाहिरिने रकमको अन्तर (भुक्तानी सन्तुलन)मा नेपाल धेरै बचतमा रहेको छ। अर्थात् नेपाल झण्डै ३ खर्ब रुपैयाँ बचतमा देखिएको छ। राष्ट्र बैंकका अनुसार भुक्तानी सन्तुलन २ खर्ब ९७ अर्ब रुपैयाँले बचतमा छ। यसबाहेक रेमिट्यान्सको उच्च वृद्धि र वस्तु आयातमा कमी आएको कारणले गर्दा नेपालको बाह्य क्षेत्र सुधारोन्मुख देखिएको छ।

चालू आर्थिक वर्षको ७ महिना अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको छ। तर वस्तु आयात भने गत वर्षभन्दा घटेको छ। आर्थिक वर्ष २०८०/८१ को सात महिनामा कुल वस्तु आयात २.३ प्रतिशतले कमी आई ८ खर्ब ९७ अर्ब ९४ करोड कायम भएको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १९.९ प्रतिशतले कमी आएको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः २.८ प्रतिशत र २३.८ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३८.४ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा तयारी पोशाक, सवारी साधान तथा स्पेयर पार्टपुर्जा, हवाइजहाज स्पेयर पार्टपुर्जा, विद्युत्तीय उपकरण, एम.एस. तार, छड, बार तथा क्वाइल लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, धान तथा चामल, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ।

जसकारण बाह्य क्षेत्र थप बलियो अवस्थामा पुगी झण्डै १५ महिनाको वस्तु आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति गर्न पुगेको छ।

तर आन्तरिक तर्फको अर्थतन्त्र चलायमान बन्न आन्तरिक कर्जा र वस्तु खपत बढ्नुपर्ने हो। आयातित वस्तुको खपत बढ्न नसके पनि कर्जा प्रवाह भने बढ्न थालेको राष्ट्र बैंकले जनाइको छ। केन्द्रीय बैंकका अनुसार चालू आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९७ अर्ब २१ करोड (४.१ प्रतिशत) ले बढेको छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ४८ अर्ब १२ करोड (३.२ प्रतिशत) ले बढेको थियो। नेपाल राष्ट्र बैंकका अनुसार २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६३.२ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३६.८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.५ प्रतिशत र ३५.५ प्रतिशत रहेको थियो।

निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.२ प्रतिशतले, विकास बैंकहरुको ३.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ३.० प्रतिशतले बढेको छ।

२०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ११.६ प्रतिशत कर्जाको लागि चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा रहेको छ भने ६७.६ प्रतिशत कर्जाको लागि घर जग्गा धितो सुरक्षण रहेको छ।

२०७९ माघ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः १२.२ प्रतिशत र ६७.३ प्रतिशत रहेको थियो। आर्थिक वर्ष २०८०/८१ को सात महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८.८ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ७.४ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ३.० प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ५.६ प्रतिशतले र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले बढेको छ।

सात महिना अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १४.० प्रतिशतले, नगद प्रवाह कर्जा २६.० प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ११.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ५.२ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ११.६ प्रतिशतले बढेको छ।

कर्जाहरुको फ्लो वृद्धि हुनु र सरकारले महंगीलाई नियन्त्रणमा राख्नुले अर्थतन्त्र चलायमान बन्ने संकेत देखिएको हो। चालू आर्थिक वर्षको ७ महिना अवधिमा मूल्यवृद्धिदर ५ प्रतिशतमा कायम रहेको छ। अघिल्लो वर्ष झण्डै ८ प्रतिशतको मूल्यवृद्धि दर रहेको थियो।