Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाह वृद्धि र माग बढ्दैनः गभर्नर अधिकारी

२०८० फाल्गुन २० गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक वित्तीय क्षेत्रमाथिको अराजकता तत्काल नरोकिए कर्जा प्रवाहको वृद्धि र माग बढ्न नसक्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाअन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताए । उनले बैैंक वित्तीय संस्थाबिरुद्ध भइरहेको अराजक गतिविधि तत्काल सरकारले रोक्नुपर्नेमा जोड दिए ।

उनले बैैंक वित्तीय संस्थाबिरुद्ध भइरहेको अराजक गतिविधिले बैंकिङ प्रणालीको मनोबल उच्च रूपमा गिराउने काम गरिरहेको दाबी गरे । गभर्नर अधिकारीले बैंकका कर्मचारीहरूलाई कालोमोसो दल्ने, बैंकबाट निस्कनेबित्तिकै कारबाही गर्ने समूहलाई तत्काल सरकारले कानुनी कारबाही गर्न आवश्यक रहेको बताए । उनले बैंकिङ उद्योगलाई धराशायी बनाउने गरी राजनीतिसमेत जोडिएको आंशका व्यक्त गरे ।

उनले राजनीतिक रुपमा व्यक्तिगत उद्देश्य परिपूर्ति गरी बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाउने गरी आक्रमण भइरहेको बताए । उनले बैंकिङ क्षेत्र र नियमन निकायलाई कमजोर बनाएपछि अन्य कुराहरू कमजोर हुँदै जाने अवस्था रहेको बताए । उनले अर्थतन्त्र कमजोर बनाएर व्यक्तिगत स्वार्थपूर्ति गर्ने दाउमा अराजक गतिविधि भइरहेको बताए । उनले सरकारले त्यस्तो गतिविधि गर्नेलाई कानुनको परिधिभित्र ल्याउनु आवश्यक रहेको बताए । उनले कानुनको परिधिमा राज्यले ल्याउन सके करेक्सन हुन सक्ने बताए ।

गभर्नर अधिकारीले बैंकका नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बैंकर्सहरूलाई पक्राउ गरेको सन्दर्भमा अन्य बैंकर्सहरू आतंकित हुनुपर्ने अवस्था नभएको बताए । उनले केन्द्रीय अनुसन्धान ब्युरोसँग राष्ट्र बैंकले बैंकका कर्मचारी पक्राउ सम्बन्धमा सोधपुछ गर्दा सहकारीको अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएको जानकारी दिए । उनले राष्ट्र बैंकले बैंकमा भएको अनियमिताका विषयमा अनुसन्धान गरी कारबाही गर्ने गरेको बताए । उनले अहिले प्रहरीले गरिरहेको अनुसन्धानलाई सबैले सहयोग गर्नुको विकल्प नभएको बताए । उनले बैंकरहरू दोषी ठहर नभए बाहिर आउने, दोषी भए कानुनअनुसार सजाय भोग्नुपर्ने अवस्था रहेको उल्लेख गरे । उनले केही साथीहरू पक्राउ परेभन्दैमा बैंकर्सहरू आंतकित हुन नहुने बताए । उनले बैंकिङ क्षेत्र निक्षेपकर्ताको रकमबाट चल्नु भएकाले स्रोतको दुरुपयोग हुने गरी कसैले पनि रकम चलाउन नहुने धारणा राखे ।

गभर्नर अधिकारीले नेपालको बैंक वित्तीय संस्थाको अवस्था अहिले दक्षिण एसियामा नै सुरक्षित र पारदर्शी रहेको दाबी गरे । उनले बैंकहरूसँग क्यापिटल इक्विटी सूचकलाई सुरक्षितको रुप हेर्न सकिने बताए । गभर्नर अधिकारीले बैंकहरूको कोर पुँजी ८ प्रतिशतभन्दा माथि रहेकाले पनि नेपाली बैंकहरू सुरक्षित रहेको बताए । उनले केही बैंकहरूलाई भने कोर पुँजीको दबाब रहेको भन्दै लोन पोर्टफोलियो बढाउनका लागि क्यापिटल बढाउनुपर्ने स्थिति रहेको बताए ।