Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले बैंकिङ क्षेत्र ढल्न दिँदैनः गभर्नर अधिकारी

२०८० फाल्गुन १४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताएका छन्। नेपाल बैंकर्स सङ्घले आयोजना गरेको सञ्चारकर्मीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले बलियो नियामकीय संरचना र वित्तीय आधार भएका कारण कुनै पनि संस्था नडुब्ने दाबी गरे।

अहिले बैंकहरुले नाफा खोज्ने नभई आफू कसरी सुरक्षित रुपमा चलिरहने भनेर सोच्नुपर्ने पनि गभर्नर अधिकारीले बताए। पछिल्लो समय बैंक तथा वित्तीय संस्थालाई लक्षित गरी भइरहेका नकारात्मक प्रचारबाजीले पनि समस्या सिर्जना गरेको उनले दाबी गरे।

एउटा बैंकमा समस्या आउँदा अर्को बैंक खुसी हुने खराब प्रवृत्तिले भोलिका दिनमा समग्र बैंकिङ क्षेत्रलाई नै समस्यामा पार्नसक्ने भएकाले सबैले मिलेर अहिलेको समस्या समाधान गर्नतर्फ केन्द्रित हुनुपर्नेमा अधिकारीले जोड दिए।
समग्र अर्थतन्त्रमा देखिएको शिथिलताको असर बैंक तथा वित्तीय संस्थाको वित्तीय स्वास्थ्यमा परेको भएपनि उनीहरु डुब्ने अवस्थामा भने नपुगेको गभर्नर अधिकारीले स्पष्ट पारे। कोभिड महामारीयताका ठूलो रकम कर्जा प्रवाह भएको र उक्त कर्जा नउठ्दा बैंकहरु थप कर्जा दिन नसक्ने अवस्थामा पुगेको उनको भनाइ छ।

ठूलो रकममा कर्जा लिएका ऋणीहरुले आफ्नो व्यवसायबाट लक्षित नाफा लिन नसक्दा पनि साँवा ब्याज तिर्न मुस्किल भएको उनले बताए। कोभिड महामारीका कारण नेपाल मात्र होइन विश्वभर नै आर्थिक वृद्धिदर घट्ने र मुद्रास्फीति बढेको देखिएकोमा अहिले बिस्तारै सुधार हुँदै गएको पनि गभर्नर अधिकारीले उल्लेख गरे। विगतमा बैंकहरुले धेरै सोचबिचारबिनै ठूलो रकम कर्जा प्रवाह गरेको र ऋणीहरुले पनि आफ्नो तिर्न सक्ने क्षमता विश्लेषण बिनै ऋण लिएको उनको भनाइ छ।

सहकारी क्षेत्र समस्यामा पर्दा त्यसको असर बैंकिङ क्षेत्रमासमेत परेको उनले बताए। सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि नियामकीय अधिकारसहितको विशिष्टीकृत संस्था बनाएर जान आवश्यक रहेको उनले उल्लेख गरे छ। त्यस्तै, निर्माण क्षेत्रमा देखिएको समस्याका कारण पनि त्यसको असर समग्र अर्थतन्त्रमा देखिएको गभर्नर अधिकारीको दाबी छ।

नेपाल बैंकर्स सङ्घका अध्यक्ष सुनील केसीले पछिल्लो समय बैंक तथा वित्तीय संस्था लक्षित गरी अनर्गल प्रचार भैरहेको बताए। बैंक तथा वित्तीय संस्थाहरुले सङ्कटको सामना गर्नुपरिरहेका बेला सरकारको तर्फबाट पर्याप्त सहयोग नभएको गुनासो पनि उनले गरे।

अहिले ब्याजदर घट्दोक्रममा रहेको र स्थिरतातर्फ गैरहेको उनको भनाइ छ। त्यस्तै मुद्रास्फीति घट्दो रहेको, बाह्यक्षेत्र सन्तुलनमा रहेको, रेमिट्यान्स बढेकोलगायत कारण अर्थतन्त्र सहज हुँदै गएको उनको दाबी छ। समग्र आर्थिक संकुचन आउँदा बैंक तथा वित्तीय संस्थाको नाफा पनि खुम्चिएको उनले बताए। आर्थिक शिथिलताको असर निर्माण क्षेत्र र साना तथा मझौला उद्योगहरु गम्भीर रुपमा देखिएकाले त्यस्ता क्षेत्रमा प्रवाह भएको कर्जा उठ्न नसकेको र थप कर्जा प्रवाह गर्नसक्ने अवस्था पनि नरहेको केसीको बुझाइ छ। यद्यपि, नेपालको बैंकिङ क्षेत्र दक्षिण एसियाकै उत्कृष्ट रहेको पनि उनले जिकिर गरे।