
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बैंकिङ क्षेत्रविरुद्ध अफवाह नफैलाउन र त्यसको पछि नलाग्न आग्रह गरेका छन् । निक्षेपकर्ताको विश्वासमा बैंकिङ क्षेत्र चल्ने भन्दै उनले कर्जा रिकभरीमा केही दबाब रहेको भएपनि पयर्याप्त तरलता भएकोले कुनै समस्या नरेहको बताए ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको एड्भान्स बैंकिङ तालिम कार्यक्रममा उनले बैकिङ क्षेत्रको सूचना प्रवाह गर्दा सजग हुनुपर्ने बताए । कार्यक्रममा नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बैंकहरू सबल अवस्थामा रहेको बताए ।
उनले बैंकहरूसँग पर्याप्त तरल सम्पत्ति रहेको र निष्क्रिय कर्जा केही बढेको भएपनि व्यवस्थापन गर्नै नसकिने अवस्था नरहेको बताए । उनले अहिलेको अवस्थामा कुनै पनि बैंकमा निक्षेकर्ताले पैसा फिर्ता नपाउने अवस्था नरहेको दाबी गरे ।
बैंकहरूसँग सरकारी ऋणपत्रमा गरेको लगानीका साथै अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपात समेत गर्दा १७/१८ खर्ब तरल सम्पत्ति रहेकाले बैंकिङ प्रणाली मात्रै नभएर कुनै पनि बैंकमा समस्या नरहेको बताए ।
प्रायः जसो बैंकहरू तरलता अभावका कारण डुब्ने अवस्था हुने भन्दै नेपालको सन्दर्भमा तरलताको हिसाबले बैंकहरू सबल अवस्था रहेको केसीले बताए । पछिल्लो १० वर्षको तुलनामा यतिबेला बैंकिङ प्रणालीमा तरलता सबैभन्दा सहज अवस्थामा रहेको उनले बताए ।
केही बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसतमा ८० प्रतिशत रहेको र केही बैंकको ७५/७६ को प्रतिशत हुँदा केहीको ८३/८४ प्रतिशत रहेको भन्दै उक्त अनुपात राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको तुलनमा धेरै सहज रहेको उनले बताए ।
सीडी रेसियो र तरल सम्पत्ति मात्रै नभएर नेपालका बैंकहरूको खुद निष्क्रिय कर्जा करिब डेढ प्रतिशत मात्रै रहेको उनले बताए ।
केसीले खराब कर्जा बढेको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेको दाबी गरे । छिमेकी मुलुकको तुलनामा नेपालको बैंकिङ क्षेत्रको औसत एनपीएल धेरै कम रहेको उनको भनाइ छ ।
खराब कर्जा बढ्दा बैंकहरूले कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) छुट्याइरहेका छन् । यतिबेला बैंकहरूले २ खर्ब १८ अर्ब यस्तो प्रोभिजन गरेको उनले बताए । खराब कर्जाबापत बैंकहरूले धेरै नै कर्जा नोक्सानी गरिसकेको हुँदा खराब कर्जा बढेको भनेर डराउनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
तर, पछिल्लो समय बैंकको पैसा तिर्नु हुँदैन भन्ने हल्लाले बैंकिङ क्षेत्रमा समस्या आउन सक्ने केसीले बताए ।
बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) का अध्यक्षसमेत रहेका नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले पछिल्लो समय बैंकिङ सेक्टरमाथि केही व्यक्ति र समूहले प्रहार गरिरहेको बताए ।
परिस्थितिका कारण बैंकिङ क्षेत्रमा केही असर परेका बेलामा गलत हल्ला फैलाएर बैंकिङ क्षेत्रमाथि प्रहार गर्नु कत्तिको उपयुक्त हुन्छ ? उनले प्रश्न गरे । यस्तो हल्ला चिर्न मिडिया र सरकारले पनि महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ ।




