Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

एकल अंकमा झर्‍यो बैंकहरूको आधार दर

२०८० फाल्गुन १० गते

बैंकिङ खबर/बैंकले निक्षेपको ब्याजदर निरन्तर घटाएसँगै कर्जा सस्तिन थालेको छ। बैंकहरुले निक्षेपको ब्याजदर घटाएपछि पुँजी स्रोतको लागत घटेर आधार दर (बेस रेट) कम हुन जाँदा यस्तो भएको हो। बैंकहरुको आधार दर घट्दा नयाँ ऋणी र पुराना ऋणीले तिर्नुपर्ने ब्याजदर सस्तो हुन्छ। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा प्रवाह गर्दै आइरहेका छन्।

माघको तुलनामा फागुनमा सानिमा बैंकको आधार दर घटेको छ। पछिल्लो तीन महिना औसत आधार दर ९.२७ प्रतिशत कायम भएको छ। अघिल्लो तीन महिना औसत दर ९.४४ प्रतिशत थियो। अघिल्लो महिनाको औसत आधार दरको तुलनामा पछिल्लो महिनाको औसत आधार दर घटेको छ। यो दर घट्दा बैंकबाट कर्जा ब्याजदर घटेको छ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकको आधार दर घटेको छ। पछिल्लो तीन महिनामा औसत आधार दर ७.९२ प्रतिशत छ। ७.९२ प्रतिशत रहेको आधार दरमा प्रिमियम जोडेर बैंकले कर्जा प्रवाह गर्नेछ। यसबाहेक कुमारी बैंकको आधार दर १०.३१ प्रतिशत, एनएमबी बैंकको ९.१४ प्रतिशत, सिद्धार्थ बैंकको ९.२२ प्रतिशत, कुमारी बैंकको १०.३१ प्रतिशत र माछापुच्छ्रे बैंकको ९.६० प्रतिशत बेसरेट छ।

त्यसैगरी, नेपाल एसबीआई बैंकको ९.३६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ७.७३ प्रतिशत, नबिल बैंकको ८.८६ प्रतिशत, सिटिजन्स बैंकको ९.८५ प्रतिशत र नेपाल बैंकको आधार दर ८.८७ प्रतिशत छ। ग्लोबल आईएमई बैंकको ९.३८ प्रतिशत, एनआईसी एसियाको ९.६७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ९.१४ प्रतिशत र लक्ष्मी सनराइज बैंकको बेसरेट ९.९९ प्रतिशत छ।

वाणिज्य बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर नै ८ प्रतिशतभन्दा कम छ। ऋणीले कम दर भएको बैंकबाट सस्तोमा कर्जा पाउँछन्। फागुनमा १८ वाणिज्य बैंकको आधार दर एकल विन्दुमा छ। दुई वाणिज्य बैंकको भने १० प्रतिशत माथि छ।

वाणिज्य बैंकको औसत आधार दर ९ प्रतिशतमा ५ प्रतिशतसम्म प्रिमियम जोड्दा कर्जाको ब्याजदर अधिकतम १४ प्रतिशतमा झरेको छ। कर्जाको प्रिमियम ३ प्रतिशत जोड्दा पनि कर्जाको ब्याजदर १२ प्रतिशत पुग्ने देखिन्छ। हालै नबिल बैंकले एकल अंक अर्थात् ९.९९ प्रतिशत निश्चित ब्याजदरमा ढुक्क घर कर्जा ल्याएको छ। ऋणीले बैंकबाट फिक्स्ड रेट (निश्चित दर) ९.९९ प्रतिशतमा कर्जा पाउने भएका हुन्। अन्य बैंकहरुले पनि कर्जाको माग बढ्न नकिरहेको बेला १०/११ प्रतिशतमा नयाँ नयाँ योजना ल्याउन थालेका छन्।