Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

स्थायी निक्षेप सुविधासँगै बैंकहरूले राखे २८ अर्ब निक्षेप

२०८० फाल्गुन ३ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरेको स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याएसँगै बैंकहरूले उक्त सुविधा उपयोग गर्न थालेका छन् । २९ माघमा आएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा १ फागुनदेखि स्थायी निक्षेप सुविधा कार्यान्वयनमा ल्याउने केन्द्रीय बैंकले जनाएको थियो ।

राष्ट्र बैंकले ब्याजदर करिडोर प्रभावकारी कार्यान्वयन गर्न भन्दै चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट ब्याजदर करिडोरको तल्लो सीमाका रूपमा रहेको निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिने जनाएको थियो ।

मौद्रिक नीति घोषणा अनुसार नेपाल राष्ट्र बैंक खुला बजार कारोबार विनियमावली र खुला बजार कारोबार कार्यविधिको चौथो संशोधन गरेर १ फागुनदेखि उक्त सुविधा उपलब्ध गराएको हो । राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा उपलब्ध गराएसँगै २ फागुनमा नै उक्त सुविधा उपयोग गर्दै राष्ट्र बैंकमा २७ अर्ब ८५ करोड रुपैयाँ निक्षेप राखेका छन् ।

स्थायी निक्षेप सुविधा चार दिनका लागि उपलब्ध हुने नेपाल राष्ट्र बैंक खुला बजार कारोबार कार्यविधिमा उल्लेख छ । तर, भुक्तानी मितिमा बैंक बिदा पर्ने अवस्थामा बिदाको अघिल्लो दिनमा भुक्तानी हुने गरी कम अवधिका लागि समेत प्रदान गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।