February 14th, 2024

अल्पकालिन ब्याजदरलाई स्थिर राख्न ‘स्थायी निक्षेप सुविधा’ प्रयोगमा

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले अल्पकालिन ब्याजदरलाई स्थिर राख्न तथा तरलता व्यवस्थापनको नयाँ उपकरण ‘स्थायी निक्षेप सुविधा’ प्रयोगमा ल्याएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थामा धेरै भएको तरलता केन्द्रीय बैंकमा ब्याज पाउने गरी निक्षेप राख्न सक्ने व्यवस्था सुरुवात गरेको हो ।

केन्द्रीय बैंकले खुला बजार कारोबार विनियमावली २०७८ र खुला बजार कारोबार सम्बन्धी कार्यविधि २०७८ को संशोधन गरेर फागुन १ गते मंगलबार देखि सुरु गरेको हो । केन्द्रीय बैंकले सुरु गरेको नयाँ उपकरणको अवधि ४ दिनको छ भने सातामा दुई दिन आइतबार र बुधबार मात्र यस्तो सुविधा उपलब्ध हुनेछ । त्यसैगरी बैंक तथा वित्तीय संस्थाले स्थायी निक्षेप सुविधा मार्फत केन्द्रीय बैंकमा निक्षेप राख्दा ब्याजदर करिडोरको तल्लो सीमा अर्थात ३ प्रतिशतका दरले ब्याजदर पाउनेछन् ।

विनियमावली अनुसार ब्याजदर करिडोरको प्रभावकारी कार्यान्वयनको लागि विनियम योग्यता एवम् तोकिएका शर्त र मापदण्ड पूरा गरेका काउण्टरपार्टीलाई कार्यविधि बमोजिम स्थायी निक्षेप सुविधा उपलब्ध गराइने छ । यो सुविधा अन्तर्गत जम्मा हुन आएको निक्षेप अन्य प्रयोजनको लागि प्रयोग गर्न नपाइने व्यवस्था विनियमावलीमा छ । तर, गलत स्वघोषणा तथा विवरण पेश गरी बैंक तथा वित्तीय संस्थाले यस्तो सुविधा लिएको पाइएमा भुक्तान भएको ब्याज असुल गरी बैंकदरमा हर्जना लगाइने व्यवस्था विनियमावलीमा छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाको रूपमा रहेको बैंकदर(७ प्रतिशत)मा स्थायी तरलता सुविधा, नीतिगत दर(५.५ प्रतिशत)मा ओभरनाईट रिपो तथा तल्लो सीमाको रुपमा निक्षेप संकलन उपकरण वा स्थायी निक्षेप सुविधाको दर(३ प्रतिशत) हुनेछ । आवश्यकता अनुसार ब्याजदर करिडोरको तल्लो सीमाको ब्याजदरमा निक्षेप संकलन बोलकबोल समेत गर्न सक्ने व्यवस्था विनियमावलीमा छ । कुल बक्यौता रकम ३० अर्बमा ननाघ्ने गरी दैनिक १० अर्बसम्म नियमित खुला बजार कारोबार अन्तर्गत रिपो, रिभर्स रिपो र निक्षेप संकलन कारोबार सम्बन्धी निर्णय गर्ने सम्पूर्ण अख्तियारी विभागीय प्रमुखलाई हुने विनियमावलीमा उल्लेख छ।

खुला बजार सञ्चालन कार्यविधि अनुसार ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा स्थायी निक्षेप सुविधालाई लिइएको छ । ब्याजदर करिडोरको तल्लो सीमाको ब्याजदरमा निक्षेप संकलन बोलकबोल समेत गर्न सकिने छ । योग्यता पुगेका काउण्टरपार्टीलाई निश्चित शर्त तथा मापदण्ड पूरा भएको स्वघोषणाको आधारमा यो सुविधा उपलब्ध हुनेछ ।

काउन्टरपार्टिले अन्तर बैंक सापटीको दायित्व बाँकी नरहेको, पछिल्लो ३० दिनको दैनिक कर्जा निक्षेप अनुपात तोकिएको सीमा भित्र रहेको स्वघोषणा गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । त्यसैगरी पछिल्लो तीस दिनको दैनिक खुद तरल सम्पत्ति तोकिएको सीमाभन्दा बढी रहेको र सबै प्रकृतिका स्वदेशी मुद्राको बचत निक्षेपमा प्रदान गर्न प्रकाशित न्यूनतम ब्याजदर यो सुविधाको ब्याजदर भन्दा कम नभएको हुनुपर्ने व्यवस्था छ ।

स्थायी निक्षेप सुविधाको न्यूनतम रकम २० करोड र सोभन्दा बढीको हकमा ५ करोडले भाग गर्दा निःशेष रहने अंक हुनुपर्ने कार्यविधिमा उल्लेख छ । काउण्टरपार्टीलाई यो सुविधा हरेक आइतबार र बुधबार दिनमा एकपटक मात्र उपलब्ध हुनेछ । चार दिन अवधिका लागि उपलब्ध हुने यो सुविधा कम अवधिका लागि समेत प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ ।

स्थायी निक्षेप सुविधा उपयोग गर्नका लागि रीतपूर्वकको निवेदन पेश गरेका काउण्टरपार्टीको नाममा सोही दिन यस बैंकमा निक्षेप रकम जम्मा गर्नु पर्नेछ । यसरी जम्मा गरिएको निक्षेप वापत प्रमाणपत्र प्रदान समेत निक्षेपकर्ता संस्थाले पाउनेछन । भुक्तानी अवधि समाप्त भए पछि निर्धारित ब्याजसहित सो निक्षेप रकम सम्बन्धित काउण्टरपार्टीको खातामा जम्मा हुनेछ । काउण्टरपार्टीले गरेको स्वघोषणा सम्बन्धित सुपरिवेक्षण विभागबाट नियमित रुपमा निरीक्षण/सुपरिवेक्षण हुनेछ ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]