Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले भन्यो ‘ब्याजदर घट्दै गएकोले अब अर्थतन्त्र चलायमान हुन्छ’

२०८० माघ २९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकल बैंकहरुको ब्याजदर घट्दै गएकोले अब अर्थतन्त्र चलायमान हुने बताएको छ। केन्द्रिय बैंकले सोमबार मौद्रिक नीतिको दोस्रा त्रैमासिक समिक्षा गर्दै आर्थिक गतिविधि बढ्दै जाने उल्लेख गरेको हो। ब्याजदर घट्दै गएको, पर्यटक आगमन बढिरहेको र पुँजीगत खर्चमा समेत तीव्रता आउँदा आर्थिक गतिविधिहरुमा सुधार भई कर्जा असुलीमा समेत सुधार आउँदै जाने अनुमान रहेको राष्ट्र बैंकले जनाएको छ।

आर्थिक गतिविधिहरु केही शिथिल रहेको परिप्रेक्ष्यमा बैकिङ्ग प्रणालीमा कर्जा असूली कम भै निष्कृय कर्जा अनुपात केही बढेको छ । २०८० पुसमा बैक तथा वित्तीय संस्थाहरुको औसत निष्कृय कर्जा कुल कर्जाको ३.७३ प्रतिशत पुगेको छ । बाह्य क्षेत्रतर्फ चालु खाता र शोधनान्तर बचतमा रहेकाले तरलता स्थितिमा उल्लेख्य सुधार आउनुको साथै मौद्रिक विस्तार भएको छ । निक्षेप तथा कर्जाका ब्याजदरहरु घट्दो क्रममा रहेका छन्।

शोधनान्तर बचत र मूल्यमा परेको चाप कम हुँदै गएकाले नीतिगत कार्यदिशालाई क्रमशः सहज बनाउँदै लगिएको केन्द्रिय बैंकले जनाएको छ। यसबाट व्यावसायिक मनोवलमा क्रमिक सुधार आउँदै गएको केन्द्रिय बैंकले उल्लेख गरेको छ।

बाह्य तथा वित्तीय क्षेत्रको परिदृश्य, नीतिगत कार्यदिशा, पुँजीगत खर्चमा क्रमशः आउने तीव्रता र बजेट बक्तव्यमा घोषणा गरिएका आर्थिक सुधारसम्बन्धी कार्ययोजनाहरुको कार्यान्वयनबाट कर्जा मागका साथै आर्थिक गतिविधिमा पनि क्रमिक सुधार आउने अपेक्षा केन्द्रिय बैंकको छ। आर्थिक गतिविधिमा आउने सुधारबाट राजस्व परिचालन र बैंक तथा वित्तीय संस्थाको कर्जा असूली तथा लगानी क्षमतामा समेत सकारात्मक प्रभाव पर्ने केन्द्रिय बैंकले जनाएको छ।

अघिल्लो आर्थिक वर्ष जस्तै चालु आर्थिक वर्ष पनि विप्रेषण आप्रवाह उल्लेख्य रहेको छ । विप्रेषण आप्रवाहको बढोत्तरीले बाह्य क्षेत्रतर्फको चालु खाता तथा शोधनान्तर बचत कायम गर्न, तरलतामा सुधार ल्याउन, ब्याजदरमाथि परेको चाप कम गर्न र आन्तरिक माग बढाउन सहयोग पुगिरहेको राष्ट्र बैंकले जनाएको छ। वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या र प्रवृत्तिलाई दृष्टिगत गर्दा आगामी महिनाहरुमा पनि विप्रेषण आप्रवाह सन्तोषजनक रहने केन्द्रिय बैंकको अनुमान छ।

नेपाल विद्युत प्राधिकरणका अनुसार चालु आर्थिक वर्षभित्र रसुवागढी, मध्य भोटेकोशी, सान्जेन, सानिमा मिडल तमोर, अपर त्रिशुली लगायतका विभिन्न निर्माणाधीन जलविद्युत परियोजनाको निर्माण सम्पन्न भई ९०० मेगावाट विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा थप हुने क्रममा रहेको छ। यसबाट मुलुकको उत्पादन सम्भाव्य क्षमता विस्तार भई थप विद्युत निर्यात गर्न, उद्योगको क्षमता उपयोगमा सुधार ल्याउन र उद्योग क्षेत्रको गतिविधि चलायमान बनाउन सहयोग पुग्ने समिक्षामा उल्लेख छ।

उल्लेख्य शोधनान्तर बचत तर कर्जा प्रवाह शिथिल रहेकोले मौद्रिक तरलता बढेको छ । बैंकिङ प्रणालीमा तरलता स्थिति सहज भएको छ भने अल्पकालीन एवम् दीर्घकालीन ब्याजदरहरु घटिरहेका छन्। आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १४.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तोमुद्राप्रदाय ७.७ प्रतिशतले वृद्धि भएकोथियो । आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप १४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो निक्षेप ९.४ प्रतिशतले बढेको थियो । यसैगरी, आर्थिक वर्ष २०८०/८१ को पुस महिनामा वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ४.९ प्रतिशत अर्थात २३१ अर्ब २५ करोडले बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ४.० प्रतिशत अर्थात १८० अर्ब ९८ करोडले बढेको थियो ।