Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

आव २०८०/८१ को मौद्रिक नीतिको अर्द्धवार्षिक समीक्षा सार्वजनिक(पूर्णपाठ)

२०८० माघ २९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८०/८१ मा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने गरी मौद्रिक व्यवस्थापन गरिने नीति लिइएकोमा पहिलो ६ महिनामा औसत उपभोक्ता मुद्रास्फीति ६.४७ प्रतिशत कायम भएको छ । यस्तै वार्षिक बिन्दुगत आधारमा पुसमा उपभोक्ता मुद्रास्फीति ५.२६ प्रतिशत रहेको छ ।

यसैगरी चालु आर्थिक वर्षमा कम्तीमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा पुस मसान्तमा १२.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति कायम भएको छ । चालु खाता बचतमा रहेको र शोधनान्तर बचत उल्लेख्य बढेको कारण विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको बैंकको भनाइ छ ।

यस्तै आर्थिक वर्ष २०८०/८१ मा विस्तृत मुद्राप्रदाय १२.५ प्रतिशत र बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा ११.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा पुस मसान्तमा वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १४.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ४.९ प्रतिशतले वृद्धि भएको छ । बैकिङ प्रणालीमा तरलता स्थिति सहज रहेको पनि अर्धवार्षिक समीक्षामा उल्लेख छ । पुसमा बैंक तथा वित्तीय संस्थाहरुको भारित औसत अन्तरबैंक दर २.८६ प्रतिशत कायम भएको छ ।