Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकहरुको घरजग्गामा ६ खर्ब बढी लगानी

२०८० माघ २५ गते

बैंकिङ खबर/बैंकहरूले घर जग्गा क्षेत्रमा ६ खर्ब बढी ऋण लगानी गरेका छन्। व्यक्तिगत घरकर्जा र कमर्सियल क्षेत्रको लागि उनीहरूले ६ खर्ब बढी लगानी गरेका हुन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार पुस मसान्तसम्म २ करोड रुपैयाँसम्मको व्यक्तिगत घर कर्जा ३ खर्ब ८० अर्ब ८६ करोड रुपैयाँ प्रवाह भएको छ। गत साउनको तुलनामा ९.४ प्रतिशतले वृद्धि हुँदा बैंकबाट ३२ अर्ब ७४ करोड रुपैयाँले ऋण प्रवाह बढेको हो।

रियल स्टेट लोन शीर्षकमा २ खर्ब ४५ अर्ब रुपैयाँ बैंकहरूले लगानी गरेका छन्। साउनको तुलनामा यो ४ अर्ब ४१ करोड रुपैयाँले घटेको हो। रेसिडेन्टल रियल स्टेटमा ६८ अर्ब ५४ करोड, कमर्सियल कम्प्लेक्स र अपार्टमेन्ट निर्माणमा २९ अर्ब १७ करोड, जग्गा तथा प्लट खरिदको लागि १ खर्ब ३७ अर्ब रुपैयाँ प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाले समग्र निर्माण क्षेत्रमा २ अर्ब ११ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। गत असार मसान्तको तुलनामा ४.१ प्रतिशतले कर्जा वृद्धि भएको हो।

६ महिनामा ८ अर्ब ३१ करोड रुपैयाँले कर्जा वृद्धि भएको छ। कुल कर्जामध्ये ८० अर्ब १६ करोड आवासीय छ भने अन्य पूर्वाधार निर्माणको लागि ३३ अर्ब २३ करोड रुपैयाँ प्रवाह भएको छ।

सडक पुललगायत ठूला संरचनाको लागि ९७ अर्ब ८७ करोड रुपैयाँ ऋण प्रवाह भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। पुस मसान्तसम्म बैंकहरूले ५० खर्ब ८३ अर्ब रुपैयाँ विभिन्न शीर्षकमा ऋण प्रवाह गरेका छन्।