February 7th, 2024

राष्ट्र बैंकमा थुप्रियो बैंकिङ प्रणालीको १ खर्ब १८ अर्ब

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाको एक खर्ब १८ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा थुप्रिएको छ । अन्तर बैंक ब्याजदरलाई ब्याजदर करिडोरको तल्लो सीमा भन्दा कम हुन नदिदाँ वित्तीय प्रणालीको पैसा केन्द्रीय बैंकमा थुप्रिएको हो ।

केन्द्रीय बैंकले व्याजदर करिडोर अनुसार अन्तर बैंक ब्याजदरलाई तल्लो सीमा भन्दा कम हुन नदिन निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । वित्तीय प्रणालीको अधिकत तरलतालाई व्यवस्थापन गरी अन्तर बैंक दर बढाउन प्रयोग हुने निक्षेप उपकरण मार्फत खिचेको तरलता केन्द्रीय बैंकमा एक खर्ब १८ अर्ब ३० करोड बक्यौता छ ।

ब्याजदर करिडोरको तल्लो सीमा भनेको निक्षेप संकलन उकपरणको ब्याजदर हो । निक्षेप संकलन उपकरणको ब्याजदर ३ प्रतिशत तोकिएको छ । पछिल्लो समयमा निक्षेप संकलनको ब्याजदर ३ प्रतिशत भन्दा सामान्य माथि छ । त्यसैगरी अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशतको हाराहारीमा नै छ ।

मंगलबार केन्द्रीय बैंकले यसभन्दा अघि बैंक तथा वित्तीय संस्थाबाट लिएको निक्षेप परिपक्क भएको छ । उक्त निक्षेप परिपक्क भएपछि वित्तीय प्रणालीमा तरलता बढ्ने र अन्तर बैंक दर घट्ने भएपछि मंगलबार नै केन्द्रीय बैंकले ४० अर्बको निक्षेप लिएको छ । उक्त निक्षेपका लागि बैंक तथा वित्तीय संस्थाले ४६ अर्ब १५ करोड रुपैयाँ बरावरको निक्षेप दिन तयार भएका थिए । बैंकहरुले केन्द्रीय बैंकले लिन खोजेभन्दा धेरै निक्षेप दिने प्रस्ताव गरेपछि प्रतिस्पर्धाका कारण ब्याजदर भने केही घटेको छ ।

मंगलबारको निक्षेप संकलनका लागि बैंक वित्तीय संस्थाले अधिकतम ३.३२७७ र न्यूनतम ३ प्रतिशत ब्याजदर माग गेको थिए । त्यसको औसत ब्याजदर ३.१७३५ प्रतिशत कायम भएको छ । मंगलबारको निक्षेप संकलनको औसत ब्याजदर यसभन्दा अघिको भन्दा थोरै हो । यसभन्दा अघि माघ १८ गतेको निक्षेप संकलनको औसत ब्याजदर ३.१८५३ प्रतिशत कायम भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]