Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकबाट निक्षेप झिकेर सेयरमा लगाउने बढे

२०८० माघ २३ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको ब्याजदर निरन्तर घटाएसँगै त्यसको प्रभाव देखिन थालेको छ । ब्याजदर घटेसँगै मानिसहरु बैंकमा पैसा राख्न छाडेर सेयर बजार र अन्यतर्फ लगानी गर्न अग्रसर देखिएका छन् । ब्याजदर घटेकै कारण बैंक तथा वित्तीय संस्थाहरुमा विभिन्न खालका खाताहरुमा आउने निक्षेपको अंश घट्न थालेको छ ।

मुद्दति र अन्य निक्षेप खाताको को रिटर्न निरन्तर घट्न थालेपछि त्यो पैसा सेयर बजारमा बिस्तारै आउन थालेको देखिएको छ ।

नेपाल राष्ट्रबैंकले मंगलबार चालु आर्थिक वर्षको ६ महिनासम्म(पुस)को आर्थिक तथा वित्तीय अवस्थाको समीक्षा सार्वजनिक गरेको छ । त्यसमा मुद्दति निक्षेपको ब्याजदर घटेर परेको प्रभावको विषयमा प्रष्ट तस्विर देखिएको हो ।

जस्तो बैंक तथा वित्तीय संस्थामा भएको कुल निक्षेपमध्ये पुस मसान्तसम्म मुद्दति निक्षेपको अंश ५९.९ प्रतिशत, बचतको २६.८ प्रतिशत, चल्तीको ६.८ र अन्यको ६.६ प्रतिशत रहेको छ । मंसिरमा भने मुद्दति निक्षेपको अंश ६०.७ प्रतिशत, बचतको २६.३ प्रतिशत, चल्तीको ६.३ प्रतिशत र अन्यको ६.९ प्रतिशत अंश रहेको थियो ।

यस्तै, पुस महिनासम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १३.२ प्रतिशतले, नगद प्रवाह कर्जा २७.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा ५.८ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.७ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा १०.५ प्रतिशतले बढेको छ । अधिविकर्ष कर्जा ४१.० प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा भने १९.९ प्रतिशतले घटेको छ ।

मंसिर महिनासम्ममा भने बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १०.३ प्रतिशतले, नगद प्रवाह कर्जा १४.५ प्रतिशतले, ट्रष्ट रिसिट (आयात) कर्जा १४.५ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४.१ प्रतिशतले र मार्जिन प्रकृतिको कर्जा ६.४ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४०.६ प्रतिशतले (पछिल्लो वर्षको कर्जाको पुनरवर्गीकरणको कारणसमेत) र हायर पर्चेज कर्जा १९.० प्रतिशतले घटेको देखिन्छ ।

यसरी मंसिरको तुलनामा पुसमा भने मार्जिन प्रकृतिको कर्जा पनि बढेको देखिन्छ । एकातिर कर्जा नै लिएर सेयरमा लगानी गर्ने समेत बढेका छन् भने यो प्रवृतिका कारण मुद्दति निक्षेप वा बैंकका यस्तै कुनै निक्षेपमा पैसा राख्नुभन्दा झिकेर सेयर बजारमा खन्याउने प्रवृति समेत बढेको सहजै अनुमान गर्न सकिन्छ ।

बिस्तार हुँदै व्यवसाय

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ४.० प्रतिशतले, विकास बैंकहरुको ४.४ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २.४ प्रतिशतले बढेको छ । मंसिरसम्म भने निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.३ प्रतिशतले, विकास बैंकहरुको २.२ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ ।

पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.१९२ अर्ब ६४ करोड (४.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.१३७ अर्ब ३३ करोड (३.० प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप रु.३७७ अर्ब ७ करोड (६.६ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप रु.२१५ अर्ब १४ करोड (४.२ प्रतिशत) ले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ ।

२०८० पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.८ प्रतिशत, २६.८ प्रतिशत र ५९.९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ७.८ प्रतिशत, २५.६ प्रतिशत र ६०.३ प्रतिशत रहेको थियो।