Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ प्रणालीबाट लगातार निक्षेप खिच्दै राष्ट्र बैंक, आज पनि ३० अर्ब तान्ने

२०८० माघ १७ गते

बैंकिङ खबर/ अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज बुधबार फेरि बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले हिजो मंगलबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तानेको थियो।

राष्ट्र बैंकले आज (माघ १७ गते) थप ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिच्न लागेको हो। यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। यो ७ दिने निक्षेप संकलन उपकरणको माघ २४ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

माघमा यो पाँचौँ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै राष्ट्र बैंकले बजारमा पैसा तान्न लागेको हो। यसअघि केन्द्रीय बैंकले माघ १६ गते २० अर्ब रुपैयाँ, माघ ९ गते ३० अर्ब रुपैयाँ, माघ ४ गते २० अर्ब रुपैयाँ र माघ ३ गते ३० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट खिचेको थियो।

त्यस्तै राष्ट्र बैंकले पुसमा १० पटक र मंसिरमा ८ पटक निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा तानेको थियो। जसअनुसार पुसमा केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट कुल २ खर्ब १५ अर्ब रुपैयाँ र मंसिरमा १ खर्ब २५ अर्ब रुपैयाँ तानेको थियो।