Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकले बिहीबार पनि बैंकिङ प्रणालीबाट २० अर्ब तरलता खिच्ने

२०८० माघ ३ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पुनः २० अर्ब तरलता खिच्ने भएको छ । बुधबार ३० अर्बको निक्षेप संकलन उपकरण बोलकबोल गरेकोमा २४ अर्ब २० करोड रुपैयाँ मात्रै तरलता खिचेको केन्द्रीय बैंकले ४ माघमा पुनः २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको हो । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १४ दिन अवधिका लागि २० अर्ब रुपैयाँ तरलता खिच्न लागिएको राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले जनाएको छ ।

बुधबार ३० अर्बको निक्षेप संकलन उपकरणका लागि बोलकबोल आह्वान भएको ३७ अर्ब ७० करोडको आवेदन परेको थियो । राष्ट्र बैंकले कटअफ ब्याजदर ३.०९८८ प्रतिशत ब्याजदर कायम गर्दै २४ अर्ब २० करोड रुपैयाँ मात्रै तरलता खिचेको हो ।

बुधबारको निक्षेप संलकन उपकरणमा बैंकहरुले अधिकतम ३.२९९९ प्रतिशत र न्यूनतम २.८९४४ प्रतिशत ब्याजदर प्रस्ताव गरेको थिए । राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दर ३ प्रतिशत रहेको र सोही दरलाई आधार मानेर २४ अर्ब २० करोड मात्रै तरलता खिचेको हो ।

बुधबार बोलकबोलमा ल्याएअनुसारको तरलता नखिचेपनि ४ माघमा पुनः ९ अर्ब ७० करोड रुपैयाँको निक्षेप संकलन उपकरण परिपक्क हुँदै छ । बुधबार पनि २५ अर्बको निक्षेप संकलन उपकरण परिपक्क भएकोले राष्ट्र बैंकले बिहीबार पुनः तरलता खिच्ने निक्षेप संकलन उपकरण बोलकबोल गर्न लागेको हो ।

राष्ट्र बैंकले बोलकबोलमा ल्याउने निक्षेप संकलन उपकरणमा लगानी गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन पेश गर्न सक्नेछन् । उक्त निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकले त्यसलाई राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।

निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । राष्ट्र बैंकले अधिक तरलता भएपछि बैंकिङ प्रणालीबाट निक्षेप संकलन उपकरण मार्फत खिचेको तरलता ७४ अर्ब ८५ करोड बाँकी छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षमै बैंकिङ प्रणालीमा रहेको अधिक तरलता खिच्न ३ खर्ब ८० अर्बको निक्षेप संकलन उपकरण बोलकबोलमा ल्याएको छ । जसबाट ३ खर्ब ७९ अर्ब ७५ करोड रुपैयाँ तरलता खिचेको छ ।

निक्षेप संकलन बोलकबोल बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये एक हो । यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ । जसबाट तरलता प्रशोचन हुन जान्छ । बोलकबोल नगरिकन निक्षेप संकलन दरमा निक्षेप संकलन गर्न सकिने व्यवस्था पनि रहेको छ ।